कमाण्डरसहित आठ तालिबान मारिए

बुधबार, २४ माघ २०७४, १६ : १७
कमाण्डरसहित आठ तालिबान मारिए

तालुक्वान, अफगानिस्तान । अफगानिस्तानको राष्ट्रिय सुरक्षा समूहले गरेको कारबाहीमा अफगानिस्तानको तालिबान सशस्त्र आतङ्ककारी समूहका एकजना कमाण्डर सहित आठजना तालिबान लडाकू मारिएको समाचार छ ।

अफगानिस्तानको उत्तरी क्षेत्रमा अवस्थित यांगीक्वाला जिल्लामा हवाई सैनिकले गरेको हवाई कारबाहीमा ती लडाकू मारिएको प्राप्त समाचारमा जनाइएको छ ।

उक्त समूहले गरेको स्थलगत कारबाहीका क्रममा ती कमाण्डर मारिएका हुन् । कारबाहीमा मारिएका ती कमाण्डरसँग उनका दुई जना अंगरक्षक र अरु दुई जना वरिष्ठ तहमा रहेका लडाकू पनि मारिएका बताइएको छ ।

अफगानिस्तानको गुप्तचर निकायको सूचनाको आधारमा गरिएको त्यस कारबाहीका क्रममा कमाण्डर मुल्लाह जिन्दानीको ज्यान गएको बताइएको छ ।

त्यस क्रममा अरु केही लडाकू घाइते पनि भएका छन् । उक्त जिल्लाको चाहल चिनल क्षेत्रमा भएको कारबाहीका क्रममा उनीहरु मारिएका अपगान गृहमन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

मुल्लाह तालिबान आतङ्ककारी संगठनको क्षेत्रीयस्तरका कमाण्डर रहेको खुलेको छ । सो समाचार अफगान सेनाका एकजना अधिकारीले यसअघि नै दिइसकेका थिए ।

अफगानिस्तानको कुन्दुज प्रान्त नजिकै पर्ने सो क्षेत्रमा पछिल्लो समयमा यहाँको सुरक्षा निकायले तालिबानका विरुद्धमा कडा कारबाही जारी राखेको छ ।

यसअघि पनि गतहप्ता मात्र सोही प्रान्तमा तालिबानका एक क्षेत्रीयस्तरका कमाण्डर मारिएका थिए । त्यस घटनापछि अरु केहीले अफगान सेनासमक्ष आत्मसमर्पण गरेका थिए ।(रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस