नयाँ मन्त्रीको नाम टुंगो नलाग्दा मन्त्रीपरिषद पुनर्गठनमा ढिलाइ

पत्रपत्रिकाबाट

सोमबार, ०२ मंसिर २०७६, ०६ : ३७
नयाँ मन्त्रीको नाम टुंगो नलाग्दा मन्त्रीपरिषद पुनर्गठनमा ढिलाइ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ। ‘मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको छ’, बैठकपछि एक सचिवालय सदस्यले भने, ‘मन्त्रीको नाम टुंगो नलागेकाले यसको जिम्मा प्रधानमन्त्रीलाई दिइएको छ’ ।

सचिवालय बैठकले नयाँ मन्त्री चयनको सम्पूर्ण अधिकार प्रधानमन्त्री ओलीलाई दिएको उनको भनाइ छ। बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भए पनि कुनकुन मन्त्री हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने विषय टुंगो लागि सकेको छैन। स्रोतका अनुसार हटाउने मन्त्रीको नाम र नयाँ मन्त्रीको नाम सोमबारसम्ममा टुंगो लाग्नेछ। 

बैठकपछि पत्रकारसँग कुरा गर्दैै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने यो विषयमा छलफल नै नभएको बताएका छन्। नेकपा अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने विषयमा पनि छलफल नभएको श्रेष्ठको भनाइ छ। ओलीले सरकारको प्रभावकारिता बढाउन आफूले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेको भन्दै बैठकमा विषय प्रवेश गराएका थिए ।

‘प्रधानमन्त्रीले अब छिटै मन्त्रिपरिषद् पुनर्गठनको लागि आफू लागिपरेको बैठकमा जानकारी गराउनुभयो । अहिले रहेका हट्ने मन्त्री र नयाँ आउने मन्त्रीको नामका विषयमा केही बताउनु भएन, त्यसरी नाममा छलफल पनि भएन,’ सचिवालयका एक सदस्यले भने, ‘हामी सबैले प्रधानमन्त्रीलाई यस विषयमा आवश्यक सुझाव दियौं, सबै पक्षलाई समेटेर राम्रा मन्छे र काम गर्न सक्नेलाई छानेर सरकारमा लैजानुहोस भन्ने आग्रह गर्‍यौं ।’

उनले सोमबार सम्भव भए सोमबार र सम्भव नभए मंगलबारसम्म मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताए । पुनर्गठनका विषयमा प्रधानमन्त्री ओलीले यस अगाडि पार्टीका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल लगायत नेतासँग छलफल गरेका थिए । 

प्रवासीलाई समन्वय गर्न कमिटी गठन
विदेशमा पार्टी कमिटी नबनाउने औपचारिक निर्णय गरेको नेकपाले प्रवासी नेपालीको हक–हित संरक्षण, एकता र मेलमिलापको प्रवद्र्धन गर्नका लागि आवश्यक पर्दा समन्वय गर्नका लागि समन्यय कमिटी गठन गरेको छ।
आइतबार बसेको नेकपा सचिवालय बैठकले समन्वय कमिटी गठन गरेको हो। समन्वय कमिटीको इन्चार्जमा विन्दा पाण्डे, सह–इन्चाजमा लक्ष्मण पन्त, अध्यक्ष युवराज चौलागाई, सचिव श्रीप्रसाद साह र सदस्यमा तिल विश्वकर्मालाई जिम्मेवारी दिइएको छ। 
‘प्रवासमा रहेका नेपालीको हक हित र एकताका विषयमा समन्वय गर्ने गरी पार्टी नेतालाई जिम्मेवारी दिने काम भयो,’ वरिष्ठ नेता झलनाथ खनालले भने। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस