प्रचण्डविरुद्ध भ्रमपूर्ण समाचार : भारतीय जासुसी संस्था ‘र’ ले धम्की दिएको कुप्रचार

मंगलबार, २३ माघ २०७४, १९ : ४१
प्रचण्डविरुद्ध भ्रमपूर्ण समाचार : भारतीय जासुसी संस्था ‘र’ ले धम्की दिएको कुप्रचार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भारतीय जासुसी संस्था ‘र’ का प्रतिनिधिले धम्क्याएको भन्दै भ्रमपूर्ण समाचार प्रकाशित भएको छ । प्रचण्डको सचिवालय श्रोतले उक्त समाचार अध्यक्ष प्रचण्डलाई बदनाम र तेजोबध गर्ने सुनियोजित उद्देश्यबाट सार्वजनिक भएको बताएको छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउनुअघि एमालेसँग एकता नगर्न भन्दै प्रचण्डलाई धम्की दिएको आसयको समाचार एकताविरोधीहरुको षडयन्त्र भएको श्रोतले बतायो । “समाचारमा कम्तीमा विश्वास लाग्ने कुरा त हुनुपर्छ ?’ श्रोतले भन्यो, “बदनाम गर्न जे पायो त्यही लेख्ने ?’
प्रचण्ड प्रधानमन्त्री भएको बेला र उनले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गरिरहेको बेला जहिले पनि यस्तै समाचार प्रकाशित हुने गरेका छन् । सोही क्रमको निरन्तरता नै अहिले प्रचण्डमाथि बिभिन्न कोणबाट हमला भइरहेको श्रोतको दाबी छ ।
अचम्म त के छ भने हृदयघातबाट मृत्यु भएका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाललाई समेत जोडेर समाचार सार्वजनिक भएपछि समाचार नियोजित भएको श्रोतले बतायो । “चर्चा पाउन, समाचार बिकाउन जे पनि लेखे हुने भो”, श्रोतले भन्यो, “र, का प्रतिनिधिसँग भेटेको या छलफल गरेको कुरा गोप्य श्रोत भन्दै मिडियाले लेखेछ । र का प्रतिनिधिहरुलाई न हामीले भेट्छौं, न भेट्ने आवश्यकता नै हुन्छ ।”
माओवादी केन्द्रका एक शीर्ष नेताले प्रकाश दाहालसँग जोडिएको आम जनमानसको संवेदनालाई ‘क्यास’ गरेर समाचार बिकाउन र चर्चा बटुल्न अध्यक्ष प्रचण्डको बदनाम गरिएको हुनसक्ने बताए । “प्रकाश कमरेडको मृत्युका बारेमा चिकित्सकले नै आधिकारिक धारणा व्यक्त गरिसकेका छन् । षडयन्त्र भएको या नभएको विषयमा अध्यक्षले प्रष्ट पारिसकेका छन् ।’ उनले भने, “तर जबर्जस्ती षडयन्त्र भनेर त्यो पनि ‘र’ सँग जोड्नु भ्रम छनुर््बाहेक अरु केही होइन ।”
समाजवादी क्रान्तिको आधार तयार पार्ने सपना बोकेर नेकपा एमाले र अन्य शक्तिहरुसँग बृहत वाम एकताको अभियानको नेतृत्व लिइरहेकोमा अध्यक्ष प्रचण्डमाथि चौतर्फी हमला भइरहेको हो । एकताको प्रक्रियालाई देशी तथा विदेशी प्रतिक्रियावादी र देशभित्र पनि प्रचण्ड अगाडि बढेको भूमिका देख्न नचाहने तत्वहरुले बदनाम गर्न खोजेको ती नेताले बताए ।
‘अध्यक्षको भूमिका कसैले अस्वीकार गर्न सक्दैन तर केहीलाई वहाँको सक्रियता पचाउन गारो परेको छ । केहीले एकता नै चाहँदैनन् । त्यसैले कसरी सकिन्छ बदनाम गर्ने कोशिस भइरहेको छ ।’ उनले भने, ‘हिजो १६ बुँदे सम्झौता हुँदा समेत यही प्रचार भयो, संविधान घोषणा हुने बेला पनि यसरी नै आलोचना गरियो, प्रधानमन्त्री भएपछि त पाइला पाइलामा कुप्रचार गरियो । यहाँ एउटा तत्व प्रचण्डले राम्रो गरेको देखिनसहने छन् ।’
भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आएको विषयलाई कतिपयले पार्टी एकतासँग पनि जोडेका छन् । यही क्रममा प्रचण्डलाई  ‘र’ का प्रतिनिधिले धम्की दिएको विषय सार्वजनिक भएको हो । कुटनीतिक तहमा चिया पसलमा गफ गरेजस्तो या झगडा गरेजस्तो भने हुँदैन । कतिपय अवस्थामा असहमतिहरु भएको खण्डमा पनि त्यसलाई प्रस्तुत गर्ने भाषा फरक हुन्छ ।
अन्तर्राष्ट्रिय  राजनीतिका विद्यार्थी कमल प्रसाई भन्छन्, “हामीकहाँ मिडिया र अरुले कुटनीतिक भाषाको अर्थ नै बुझ्दैनन् । त्यसैले जे पायो त्यही आफ्नोस्तरमा बुझेर लेख्छन् ।’ प्रचण्ड र ‘र’ का प्रतिनिधिसँग जोडिएको समाचार पनि त्यसकै कडी भएको उनको तर्क छ ।

 

प्रतिक्रिया दिनुहोस