गाईघाट । २० वर्षिय युवकले १४ वर्षीया किशोरीलाई भगाएर बाल विवाह गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।
गिरीले केही दिनअघि उक्त किशोरीलाई फकाएर प्रलोभनमा पारी भगाएर विवाह गरेपछि किशोरीका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले युवकलाई पक्राउ गरि म्याद थप गरेर बालविवाह सम्बन्धी मुद्धा दायर गरेको बताए ।
जिल्लामा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा बालविवाह बढ्दै गएको बेला कटारीमा भने बालविवाह गर्नेलाई पक्राउ गरी कारवाही शुरु गरिएको पनि प्रहरीप्रमुख केसीले बताउनुभयो ।
किशोरी बलात्कार गर्नेलाई सात वर्षको जेल सजाय
जिल्ला अदालत उदयपुरले स्थानीय १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा त्रियुगा नगरपालिका–९ गैरुनका २५ वर्षीय युवालाई सात वर्षको जेल सजाय र रु पाँच हजार दण्ड जरिवाना गर्ने फैसला गरेको छ ।
बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले परियारलाई किशोरी बलात्कार गरेको अभियोगमा सात वर्षको जेल सजाय र पीडितलाई रु पाँच हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताए ।
२०७५ माघ २९ गते परियारले किशोरीलाई बलात्कार गरेको पीडितका आफन्तले प्रहरीमा जाहेरी दिएपछि फागुन २६ गते पक्राउ गरेर अभियुक्तलाई बलात्कारसम्बन्धी मुद्दा चलाइएको जिल्ला अदालत उदयपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ कार्तिक २०७६, १४ : १२
लेखकबाट थप