पाकिस्तानी पूर्वप्रधानमन्त्री सरीफलाई हृदयाघात, कमजोर महशुस

एजेन्सी

शनिबार, ०९ कार्तिक २०७६, १८ : ४८
पाकिस्तानी पूर्वप्रधानमन्त्री सरीफलाई हृदयाघात, कमजोर महशुस

इस्लामावाद, पाकिस्तान । पाकिस्तानको लाहुरस्थित सर्भिसेस हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उपचार कै क्रममा हृदयघात भएको पाकिस्तानी वरिष्ठ पत्रकार हमिद मिरले शनिबार बताउनुभयो ।

अस्पतालका चिकित्सकलाई उद्धृत गरी ट्वीटमार्फत उहाँले जानकारी गराउनुभयो, “पूर्वप्रधानमन्त्री सरिफलाई हृदयाघात भएको छ तर चिकित्सकको उपचारपछि उहाँ यसबाट बाँच्न सफल हुनुभएको छ । यद्यपि अहिले उहाँले निकै कमजोर महशुस गर्नुभएको छ ।”

पाकिस्तानी समाचार संस्था जिओ न्यूजले पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्य उहाँलाई अस्पताल पु¥याइँदा नै निकै विग्रिएको थियो । उहाँको रगतमा प्लेटलेटको सङ्ख्या निकै कम भएको अवस्थामा यसै हप्ता अस्पताल पु¥याइएको थियो । स्थानीय सञ्चारमाध्यमबाट सम्प्रेषित समाचारमा उहाँलाई नयाँ रगतमार्फत प्लेटलेट दिएपछि उहाँको प्लेटलेट सङ्ख्या सामान्य अवस्थामा फर्किएको बताएका थिए । तर शनिबार फेरि प्लेटलेटको सङ्ख्या कमी देखिएको थियो । उहाँलाई शनिबार पनि प्लेटलेट दिइ उपचार भइरहेको छ ।

विभिन्न भ्रष्टाचार अभियोगमा जेल पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै लाहोर उच्च अदालतले उपचारका लागि उहाँलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो । जमानतमा रिहा हुनका लागि पाकिस्तानी पूर्वप्रधानमन्त्रीले एक करोड पाकिस्तानी रूपैयाँ बराबरको जमानतपत्र बुझाउनुपर्नेछ ।

 रगतसम्बन्धी समस्या (थ्रोम्वोसाइटोपेनिया) को निदानका लागि जेलमा रहेका सरिफलाई अस्पताल भर्ना गरिएको थियो र यसपहिले बिहीबार दिइएको जानकारीमा स्थितिमा सुधार आएको जनाइएको थियो ।  (रासस/एएनआई)

प्रतिक्रिया दिनुहोस