अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न माग

सफल खबर संवाददाता

सोमबार, ०४ कार्तिक २०७६, १६ : ३९
अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न माग

चितवन । नेपाल चिकित्सक संघ चितवनले चितवन मेडिकल कलेजमा तोडफोड गर्नेलाई कारबाही गर्न प्रशासनसँग २४ घण्टे अल्टिमेटम दिएको छ । संघले आज प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ६ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको हो । 
संघका अध्यक्ष डा प्रकाश खतिवडाद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा घटनाका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई तत्काल कारबाही गर्न माग गरिएको छ । संघले कलेजका चिकित्सक र विद्यार्थीहरुमाथी भएको सांघातिक आक्रमण गर्नेलाई सिसिटिभी फुटेज र भिडियोका आधारमा ज्यान मार्ने उद्योग अन्तर्गत कानुनी कारवाही अगाडी बढाउन प्रशासनसँग माग गरेको छ । 
आफुहरुका माग २४ घण्टाभित्र पूरा नभए अशान्ति र असुरक्षाको विचमा उपचार सेवा दिन नसकिने हुँदा सम्पुर्ण अस्पताल एवं क्लिनिकहरुमा आकश्मिक सेवा बाहेकका सेवा ठप्प पार्ने चेतावनी पनि दिइएको छ । 
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले आन्दोलन, बन्द हड्तालबाट निकास ननिस्कने भएकाले सेवालाई निरन्तरता दिन चिकित्सकहरुलाई आग्रह गरेका थिए । उनले आपराधिक गतिविधि गर्न कसैलाई छुट नभएको भन्दै दोषीलाई कानुनी कारबाही हुने बताए । 
प्रजिअ बस्नेतले चितवन मेडिकल कलेजमा पटक पटक यस्ता घट्ना दोहोरिने गरेको उल्लेख गर्दै भने ‘घटना घटेपछि पीडित पक्ष र अस्पतालबीच मिलेमतो गर्ने अनि नमिलेपछि तोडफोड हुने, सुरक्षा कमजोर भयो भन्ने आरोप आउने गरेको छ घटना घटनासाथ प्रशासनलाई जानकारी नगराउँदा यस्तो समस्या दोहोरिरहेको छ ।’ 
यसैविच चितवन मेडिकल कलेजका विद्यार्थीले पनि घटनाको विरोध गरेको छ । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दद्वारा हस्ताक्षरीत विज्ञप्तिमा कानुनी उपचार खोज्न अस्पताल प्रशासन र पीडित पक्षलाई आग्रह गरिएको छ । 
नवलपरासी मध्यविन्दु नगरपालिका ९ की ३२ वर्षीय आसा ज्ञवालीको उपचारका क्रममा मृत्यु भएको थियो । नाकको अप्रेसनमा अस्पताल पुगकी ज्ञवालीको अस्वभाविक मृत्यु भएको भन्दै उनका आफन्तले हिजो साँझ ५ बजे तोडफोड गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस