अमरनाथ र बैष्णोदेवी गुफा निर्माण

आइतबार, २१ माघ २०७४, १४ : २४

गौशाला । महाशिवरात्रिको अवसर पारेर महोत्तरी जिल्लाको प्रख्यात जलेश्वरनाथ महादेव मन्दिर नजिकै भारतको कास्मिरमा अवस्थित बाबा अमरनाथ महादेव र माता वैष्णोदेवीको गुफा निर्माण गरिएको छ ।

जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ मन्दिर नजिकै जलेश्वरदेखि बर्दिबास जाने सडकको छेउमा उत्तरपट्टि खाली चौरमा ९० फिट लम्बाइ तथा ८५ फिट चौडाइ भएको अमरनाथ महादेवको गुफा र ७५ फिट लम्बाइ तथा ८० फिट चौडाइ भएको माता वैष्णोदेवीको गुफा निर्माण गरिएको हो ।

विश्व हिन्दू धर्म नारी अवान केन्द्रकी अध्यक्ष अम्बिका भारतीले रु १५ लाखभन्दा बढीको लागतमा विगत दुई महिनादेखि काठ, बाँस, बालुवा, सिमेन्ट र सेता कपडा तथा रुईको लागतमा दुवै गुफा निर्माण गराएकी छिन् । उहाँले आफू अमरनाथ र वैष्णोदवी गुफा भ्रमण गरेर आएको र सबैले सहज रूपमा त्यहाँ गएर अमरनाथ र वैष्णोदेवी गुफा भ्रमण गर्न नसक्ने भएकाले प्रतीकका गुफा निर्माण गराएर सबैलाई बाबा अमरनाथ र माता वैष्णोदेवीको दर्शन गराउने प्रयासस्वरुप दुवै गुफा जलेश्वरमा निर्माण गराएको बताउनुभयो ।

यस महान् गुफा भोलि सोमबार दिउँसो ३ बजेदेखि आउँदो महाशिवरात्रिको दिनसम्म सर्वसाधारणका लागि खुला गरिने तथा भीड बढी भएमा यस मेलाको अवधि बढाउने व्यवस्था गरिएको निर्मात्री भारतीले बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस