प्रदेशसभा बैठकको तयारी तीव्र, बैठकको कार्यसूची तय

शनिबार, २० माघ २०७४, १८ : ४४
प्रदेशसभा बैठकको तयारी तीव्र, बैठकको कार्यसूची तय

वीरेन्द्रनगर । प्रदेश नं ६ अस्थायी मुकाम सुर्खेतमा आइतबार बस्ने प्रदेशसभाको पहिलो ऐतिहासिक बैठकको तयारीलाई तीव्रता दिइएको छ ।
वीरेन्द्रनगरस्थित सिँचाइ डिभिजन कार्यालयको सभा हलमा बस्ने बैठकको तयारीका लागि अहिले कर्मचारीलाई भ्याइनभ्याइ छ । बैठक हलमा कुर्सी मिलाउनेदेखि हललाई शोभायमान बनाउने कार्यमा कर्मचारी खटिरहेका छन् । “भोलि बस्ने पहिलो बैठकको अध्यक्षता (ज्येष्ठ सदस्य) हिमबहादुर शाहीको उपस्थितिमा आज पूर्वाभ्यास हँुदैछ”–संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले भन्नुभयो ।

सर्वदलीय बैठकले भोलि बस्ने बैठकको कार्यसूचीसमेत तय गरिसकेको बैठकमा सहभागी प्रदेशसभा सदस्य सीता नेपालीले जानकारी दिनुभयो । आइतबार दिउँसो १ बजे शुरु हुने बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाइने, शहीदप्रति श्रद्धान्जलि व्यक्त गरिने, सभाअध्यक्षसहित प्रदेश संसद्मा प्रतिनिधित्व गरेका पार्टीका एक÷एक सदस्यले मन्तव्य राख्ने, अन्तरिम कार्यविधि तय गरिने र सभामुखको निर्वाचनको मिति तोकिने कार्यसूची तय गरिएको छ ।

सम्भवतः सोही बैठकले यही माघ २९ गते सभामुख चयनका लागि चुनावको मिति तोक्ने बताइएको छ । त्यसका लागि संसद् सचिवालयले आवश्यक चुनावी तयारीसमेत गरिरहेको छ ।

बैठकमा पत्रकारको प्रवेशका लागि संसद् सचिवालयले परिचयपत्रको व्यवस्था गरेको छ भने पत्रकारलाई मर्यादित पोशाक लगाउन आग्रह गरिएको छ । “हामीले औपचारिक पोशाक भनेका छैनौँ, तर कम्तीमा संसद्को मर्यादा देखिने पोशाक लगाएर आउन आग्रह मात्र गरेका हौँ”–संसद् सचिवालयका सचिव खड्काले भन्नुभयो ।

प्रदेश नं ६ मा नेकपा (एमाले) बाट २०, नेकपा (माओवादी–केन्द्र) बाट १३, नेपाली काँग्रेसबाट छ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक गरी ४० जना सदस्य हुनुहुन्छ ।

यसैगरी शुक्रबार मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यलय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना भएको छ । प्रदेश नं ६ का लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को प्रमुख सचिवमा नियुक्त हुनु भएका सुरेश प्रधानले पनि शुक्रबार नै पदवहाली गर्नु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस