त्रिभूवन विमानस्थलमा बिदाको दिन पनि निःशुल्क शव ढुवानी नरोकिने

शुक्रबार, १७ असोज २०७६, १८ : १६
त्रिभूवन विमानस्थलमा बिदाको दिन पनि निःशुल्क शव ढुवानी नरोकिने

काठमाडौँ । वैदेशिक रोजगार बोर्डले दशैँका क्रममा सार्वजनिक बिदा भए पनि वैदेशिक रोजगारीका क्रममा निधन भएका कामदारको निःशुल्क शव ढुवानी नरोकिने प्रष्ट पारेको छ ।   
यही असोज १९ देखि २२ गतेसम्म बोर्डका सचिवालय बन्द हुने भए पनि शव ढुवानी सेवा नियमित हुने कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो । बोर्डले बिदाको समयमा शव ढुवानी कार्यमा समन्वय गर्न उपसचिवको नेतृत्वमा चार कर्मचारीलाई तोकेको छ । 

बोर्डले वैदेशिक रोजगारीका क्रममा निधन भएका कामदारको शव त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि घर ठेगानासम्म निःशुल्क रुपमा ढुवानी गर्दै आएको छ । 

यसैबीच, बोर्डले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ दशैँका बिदाका दिन पनि खुल्ने भएको छ । बिदाका दिन बिहान १० देखि साँझ ५ बजेसम्म एक ‘सिफ्ट’मा कल सेन्टर सञ्चालन हुने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । बार्डले श्रम, रोजगार, वैदेशिक रोजगारसँग सम्बन्धित गुनासो तत्काल सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस