सामाजिक रूपान्तरणमा सामुदायिक विद्यालयको योगदान विशिष्ट : प्रमुख दाहाल

शनिबार, २० माघ २०७४, १६ : ०२
सामाजिक रूपान्तरणमा सामुदायिक विद्यालयको योगदान विशिष्ट :  प्रमुख  दाहाल

गीतानगर । सामुदायिक विद्यालयहरूले देशका लागि चाहिने योग्य र दक्ष जनशक्ति उत्पादन गर्ने सवालमा विशिष्ट भूमिका खेलेको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताउनु भएको छ ।

श्री शहीद स्मृति माध्यामिक विद्यालय भरतपुर ६, पारसनगरको ५१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको शनिबार उद्घाटन गर्दै महानगर प्रमुख दाहालले यस्तो बताउनु भएको हो । उहाँले विद्यालयलाई ५१औं वार्षिक उत्सव मनाउन सफल भएकोमा शुभकामना ब्यक्त गर्नुभयो ।

प्रमुख अतिथि दाहालले सामुदायिक विद्यालयहरूको स्तरोन्नति देशकै समस्याको रूपमा रहेको भन्दै महानगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरूको क्षमता विकास र बिस्तारमा महानगरपालिकाले विशेष पहल गर्ने बताउनु भयो । उहाँले अधिकांश निम्न र मध्यम वर्गीय परिवारका विद्यार्थीहरू पढ्ने सामुदायिक विद्यालयहरूको स्तर निजी विद्यालय सरह बनाउनु पर्नेमा जोड दिनुभयो ।


महानगर प्रमुख दाहालले शिक्षा क्षेत्रको विकासबिना समाजको विकास र सभ्यताको कल्पनै गर्न नसकिने बताउँदै शिक्षा क्षेत्रको विकासमा सबैको सामूहिक सहयोग, चिन्ता र चासो हुनुपर्ने बताउनु भयो । सामुदायिक विद्यालयहरूले राष्ट्रका लागि आवश्यक योग्य जनशक्ति उत्पादन गरिरहेको बताउँदै उहाँले अबको शिक्षा सीपमूलक र जीवनोपयोगी हुनुपर्ने बताउनु भयो । उहाँले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरू पनि प्रतिस्पर्धी र इमानदार हुनु पर्नेमा जोड दिनुभयो ।

‘जे भयो भइसक्यो, अब नयाँ ढंगले अगाडि बढ्नुपर्छ’ महानगर प्रमुख दाहालले भन्नुभयो, ‘अबको मुख्य कार्यभार शैक्षिक गुणस्तर सुधार हो । त्यसका लागि तपाइँहरू योजना ल्याउनुहोस्, महानगर सक्दो सहयोग गर्न तयार छ ।’ महानगरको ऐतिहासिक नगर परिषद भर्खरै सम्पन्न भएको प्रसंग उल्लेख गर्दै दाहालले नगर परिषदबाट पारित विकास निर्माण, निती तथा कार्यक्रमहरू महानगरबासीहरूले अनुभूति गर्ने गरी गरेर देखाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विष्णु तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष हरिविलास कोइरालाले विद्यालयको क्षमता बिस्तारका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । उक्त अवसरमा विद्यार्थीहरूले साँस्कृतिक कार्यक्रम र पिटी प्रस्तुत गरेका थिए । वार्षिक उत्सवको अवसरमा विद्यालयका पूर्वविद्यार्थी तथा समाजसेवी झलक केसीले स्वर्गीय बुबाआमाको स्मृतिमा एक लाख रूपयाँको असहाय विद्यार्थी अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक दिपेस पौडेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
वार्षिकोत्सव समारोहमा चन्दादाता, अक्षयकोष स्थापनाकर्ता तथा सहयोगीहरूलाई सम्मान गरिएको थियो । विद्यालयमा शिशुदेखि १० कक्षासम्म छात्रा २ सय ७ र छात्र २ सय ३४ गरी ४ सय ४१ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस