संसदीय समाचार संकलन सम्बन्धमा अभिमुखीकरण

शनिबार, २० माघ २०७४, १५ : १४
संसदीय समाचार संकलन सम्बन्धमा अभिमुखीकरण

पोखरा । पोखरामा यही माघ २२ गते बस्न लागेको पहिलो प्रदेशसभा बैठकलाई लक्षित गर्दै नेपाल पत्रकार महासंघ, कास्कीले आज पत्रकारलाई संसदीय समाचार संकलन विषयक अभिमुखीकरण दिएको छ ।

प्रादेशिक संरचनाअन्तर्गत प्रदेशसभाको बैठक बस्न लागेको हुँदा संसदीय समाचार संकलनका प्राविधिक पक्षबारे जानकारी गराउने उद्देश्यका साथ अभिमुखीकरण दिइएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा संसदीय पत्रकार मञ्चका अध्यक्ष राजेन्द्र फुयालले संसदीय समाचार संकलनको प्रकृति अन्य समाचार संकलनभन्दा भिन्न भएको बताउँदै संसद्सँग जोडिएका धेरै विषय यसअन्तर्गत रहने बताउनुभयो ।

पत्रकार भुवन केसीले प्रदेशसभा पत्रकारिता अब्बल एवं चुनौतीपूर्ण रहेको बताउँदै प्रदेशसभाको समाचार संकलनका लागि जान्नै पर्ने कुराबारे जानकारी गराउनुभयो ।

प्रदेश नं ४ मा सर्वदलीय बैठक बस्दै
यही माघ २२ गते बस्ने प्रदेशसभाको बैठकलाई लक्षित गर्दै आज पोखरामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्ने भएको छ ।

प्रदेशसभाको बैठकलाई व्यवस्थित गर्ने सम्बन्धमा छलफलका लागि बैठक आयोजना गरिएको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले जानकारी दिनुभयो ।

कुल ६० सदस्यीय रहेको यो प्रदेशमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नयाँशक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका सदस्यसहित एक जना स्वतन्त्र सदस्य रहनुभएको छ ।

आजको सर्वदलीय बैठकमा प्रदेशसभाको पहिलो बैठक सुञ्चालनलगायतका विषयमा छलफल गरिने ज्येष्ठ सदस्य श्रेष्ठले बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस