काठमाडौँ । ज्येष्ठ नागरिकका लागि विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक संविधानले प्रत्याभूत गरेको भए पनि कञ्चनपुरका ज्येष्ठ नागरिकले भत्ताको रकमबाहेक अन्य सुविधा पाएका छैनन् । निःशुल्क औषधोपचार र यातायातका साधनमा छुटको व्यवस्था नभएको ज्येष्ठ नागरिकहरुको गुनासो छ ।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन, नियमावली तथा राष्ट्रिय कार्ययोजनाहरु कार्यान्वयनमा रहे पनि ज्येष्ठ नागरिकले त्यसको अनुभूति गर्न पाएका छैनन् । सार्वजनिक सवारीका साधनमा आरक्षित सिटको व्यवस्था नहुँदासमेत समस्या झेल्नु परेको ज्येष्ठ नागरिकहरुले बताउनुभएको छ ।
‘उमेरका कारण विभेद अन्त्यको यात्रा’ भन्ने नारासहित आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा २९ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आयोजित सरोकारवालाहरुसँगको अन्तरक्रियामा ज्येष्ठ नागरिक समाजका अध्यक्ष सोभिसिंह कुँवरले सिंहदरवारको अधिकार गाउँगाउँमा पुगे पनि ज्येष्ठ नागरिकले भत्ताको रकमबाहेक अन्य सुविधा राज्यबाट पाउन नसकेको बताउनुभयो ।
ज्येष्ठ नागरिकलाई परिवारका सदस्यहरुले माया ममता, खानलगाउन र स्वास्थ्योपचारमा विशेष ध्यान दिनुपर्ने अवस्थामा धेरै ज्येष्ठ नागरिकले वृद्धाश्रमको मुख देख्नुपरेको उहाँको भनाइ थियो । “परिवारसँग बस्दै आएका ज्येष्ठ नागरिकले ‘घरमै सत्याग्रह गरी मर्न तयार छु तर वृद्धाश्रम जाँदिन’ भनेर प्रण गर्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो । परम्परा कायम गर्दै वृद्ध अवस्थाका आमाबुबालाई स्नेह दिनुपर्ने बेला वृद्धाश्रम पठाएर आजभोलिका पुस्ता पापको भागीदार बनिरहेको उहाँको भनाइ थियो ।
“दशैँ आएको छ । केही ज्येष्ठ नागरिकलाई साँझ खाएर बिहान के खाने भन्ने पिरलो छ । त्यस्ता सहाराविहीन ज्येष्ठ नागरिकलाई स्थानीय तहले खाने बस्ने व्यवस्था गर्नुपर्छ”, ९६ वर्षीय रामप्रसाद चौधरीले भन्नुभयो, “बूढापाकाहरुले आफनो सन्तान राम्रै भएको देख्न चाहन्छन् । सुखदुःख गरी हुर्काउने तिनै ज्येष्ठ नागरिक घरमै अपहेलना, तिरस्कार र उत्पीडनको सिकार बन्दै आएकाले सहजरूपमा घरमै बस्ने वातावरण कायम गरिनुपर्छ ।”
ज्येष्ठ नागरिक समाजका सदस्य भैरवसिंह ऐरले ज्येष्ठ नागरिकले सिकेको ज्ञान र प्राप्त गरेको दक्षतालाई समाजमा प्रयोग गरेर कसरी समाजलाई सुन्दर र सभ्य बनाउन सकिन्छ भन्नेबारे स्थानीय तहले सोच्नुपर्ने बेला आएको बताउनुभयो । नगरपालिका क्षेत्रका सबै वडाहरुमा ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरेर सुखदुःखका कुरा साटासाट गरी मनको भारी बिसाउने चौतारी स्थापना हुनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा नगरप्रमुख दिलबहादुर ऐरले ज्येष्ठ नागरिक समाज रूपान्तरणको पहिलो अभियानकर्मी भएकाले उहाँहरुको स्वास्थ्य अवस्था, समाजमा दिएको योगदान र दिनसक्ने सुझाव सल्लाह समाजका लागि अत्यन्त लाभदायी हुने बताउनुभयो ।
कार्यक्रममा तीन दर्जन बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिनुका साथै स्वास्थ्य परीक्षणसमेत गरिएको थियो । नेपालमा कूल जनसङ्ख्याको आठ दशमलव १४ प्रतिशत पुरुष ज्येष्ठ नागरिक र सात दशमलव ९८ प्रतिशत महिला ज्येष्ठ नागरिक रहेका छन् । शुक्लाफाँटा नगरपालिकामा मात्रै तीन हजारको हाराहारीमा ज्येष्ठ नागरिक रहेका छन् ।
ज्येष्ठ नागरिक दिवस संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९९० मा पारित भएपछि मनाउन शुरु गरिएको हो । ज्येष्ठ नागरिक दिवस अनौपचारिकरूपमा भने सन् १९८८ मा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको संयोजकत्वमा मनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १४ असोज २०७६, १९ : २८
लेखकबाट थप