सैद्धान्तिक–राजनीतिक विचारमा जटिलता आउँदैन : मानन्धर

शनिबार, २० माघ २०७४, १२ : ५६

काठमाडौँ । नेकपा(माओवादी केन्द्रं)का नेता सुनिलकुमार मानन्धरले नेकपा(एमाले) र आफ्नो दलले बहुदलीय लोकतान्त्रिक माध्यमबाट शान्तिपूर्ण प्रतिस्पर्धाबाट अगाडि बढ्ने कुरा आआफ्ना दस्तावेजमा उल्लेख गरिसकेकाले एकीकरणका लागि सैद्धान्तिक–राजनीतिक विचारमा जटिलता नआउने बताउनुभएको छ ।

निर्वाचनकै बेलामा दुई दलबीचको एकीकरणलाई जनताले अनुमोदन गरेकाले एकताभन्दा बाहिर जानु जनादेशविपरीत हुने रासससँगको कुराकानीमा उहाँले बताउनुभयो । माओवादी सचिवालय सदस्य मानन्धरले आफ्नो दलले सशस्त्र र जनयुद्धको बाटो छाडिसकेकाले एमालेसँग मिली अब नयाँ कार्यक्रम दिन शब्दको कुनै समस्या नआउने स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो, “नयाँ एकीकृत वामपन्थी दलले अब चीन, भियतनाम र क्युवाका प्रणालीभन्दा फरक बहुदलीय लोकतन्त्र, शान्तिपूर्ण प्रतिस्पर्धा, मानवाधिकार, सङ्घीय गणतन्त्रकै माध्यमबाट नेपाली विशेषतानुसारको समाजवादको लक्ष्य निर्धारण गर्नेछ ।”

तत्कालीन नेकपा(संयुक्त)का महासचिव मानन्धरले निर्वाचनमा छुट्टै पहिचान लिएर लडेका नयाँ शक्ति पार्टी, नेकपा(माले), राष्ट्रिय जनमोर्चा र नेमकिपालाई पनि बृहत्तर वामपन्थी दलमा आउन नयाँ एकीकृत दलले आह्वान गर्ने नै छ भन्दै तर मुलुकमा एकभन्दा बढी बुर्जुवा दल हुन्छन् भने अन्य वामपन्थी दलहरु पनि स्वाभाविक रुपले हुन सक्ने स्पष्ट गर्नुभयोे ।

निर्वाचनमा सीट बाँडफाँटजस्तो जटिलता झेलेर दुई दलले बहुमत ल्याउन सकेकाले अब दुवै दलका नेताहरुबीचको व्यवस्थापन पनि सजिलैसँग टुङ्गिने विश्वास उहाँले व्यक्त गर्नुभयो । दुई अध्यक्षको मात्र होइन, पार्टीका अन्य निकायको समायोजन पनि सैद्धान्तिक सहमतिकै बीच खोजिने बताउँदै माओवाद केन्द्र नेता कार्यकर्ता व्यवस्थापन कार्यदलका सदस्य मानन्धरले माओवादी केन्द्रमा अन्य दलबाट आएका नेता–कार्यकर्ताको समायोजन पनि मिलाउन लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस