प्रदेश ६ को बैठकको तयारी पूरा

शनिबार, २० माघ २०७४, १२ : १०
प्रदेश ६ को बैठकको तयारी पूरा

सुर्खेत । प्रदेश नं ६ को प्रदेशसभाको पहिलो बैठकको तयारी पूरा भएको छ । भोलि २१ गतेका लागि तोकिएको पहिलो प्रदेशसभा बैठकका लागि कार्यविधि सभा स्थलको व्यवस्थापनलगायतका तयारी पूरा भएको प्रदेश सचिवालयले जानकारी दिएको छ ।

प्रदेशसभाको बैठकका लागि तय गरिएको सिँचाइ विभाग डिभिजनको भवन र सभाहल सजाउने, रङरोगन, गेट निर्माणलगायतका काम भइरहेका छन् । पहिलो बैठकमा पेश गरिने एजेण्डालगायतको टुंगो लागिसकेको छ ।
सचिवालयले शुक्रबार सर्वदलीय बैठकको आयोजना गरेर बैठकमा पेश गर्ने एजेण्डा र अर्को मितिको पनि टुंगो लगाएको जनाएको हो ।

“प्रदेश संसद् बैठकका लागि अन्तरिम कार्यविधि पारित गर्नुका साथै सभामुख चयनका लागि दोस्रो बैठकको मिति पनि तय गरेका छौँ” प्रदेश संसद् सचिव सञ्जय दाहालले भने, “संसद् भवन र सभाकक्षको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।” पहिलो बैठकमा सभामुखको भूमिका ज्येष्ठ सदस्य काँग्रेसका हिमबहादुर शाहीले निर्वाह गर्नेछन् ।
सर्वदलीय बैठकले सचिवालयले बनाएको अन्तरिम कार्यविधि पारित गर्नुका साथै सभामुखको निर्वाचनका लागि दोस्रो बैठकको मिति पनि तय गरेको हो । दलहरुबीच भएको सहमतिअनुसार माघ २९ गते सभामुखको निर्वाचन हुनेछ ।

प्रदेश संसद् बैठकको मिति नजिकिएसँगै मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय स्थापना गरिएको छ । क्षेत्रीय प्रशासन भवनमा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्थापना गरिएको हो ।

यस्तै प्रदेश मुख्य सचिव सुरेश प्रधान, मन्त्रिपरिषद् कार्यालयका सचिव यज्ञराज बोहरा र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केशव आचार्यले पनि शुक्रबार पदबहाली गरेर काम शुरु गरेका छन् ।

मुख्य सचिव प्रधानले आउने बुधबारसम्म सबै मन्त्रालय स्थापना गरिने बताए ।  संघीय संरचनाका लागि प्रस्ताव गरिएका भवन खाली हुने क्रममा छन् उनले भने, “मंगलबारसम्म सबै भवन खाली गराएर मन्त्रालय स्थापना गर्छौं ।” उनले क्षेत्रीय कार्यालय खारेज भइनसकेका र उनीहरुका कार्यक्रम पनि सञ्चालन भइरहेकाले भवन खाली गराउने काम केही ढिलो भएको बताए ।

“क्षेत्रीय प्रशासन र क्षेत्रीय हुलाकमा प्रदेश मन्त्रिपरिषद्, मुख्यमन्त्री र प्रमुख सचिवको कार्यालय स्थापना गरिसकेका छौँ” उनले भने,“बाँकी मन्त्रालय बुधबारबाट सञ्चालनमा आउने छन् ।”

जिल्ला जनस्वास्थ्य कार्यालयमा गृहमन्त्रालय, जिल्ला भू–संरक्षण कार्यालयमा अर्थ, क्षेत्रीय कृषि र जिल्ला कृषि विकास कार्यालयमा कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय, क्षेत्रीय सडक र डिभिजन सिँचाइमा पूर्वाधार विकास मन्त्रालय, क्षेत्रीय सिँचाइ र क्षेत्रीय सुपरिवेक्षण कार्यालयमा प्रदेश विज्ञान तथा वातावरण मन्त्रालय, क्षेत्रीय शिक्षा र पशुसेवा निर्देशनालयमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय रहने छन् ।रासस

प्रतिक्रिया दिनुहोस