जब प्रहरी बाघको छाला किन्न ग्राहक बनेर गयो...

बुधबार, ०८ असोज २०७६, १७ : १५
जब प्रहरी बाघको छाला किन्न ग्राहक बनेर गयो...

चितवन । जतिबेला एक समूहले चितवनमा बाघको छाला विक्री गर्न ल्याइरहेको छ भन्ने सूचना चितवन प्रहरीले पायो, तत्काल प्रहरीले चितवनको कुन क्षेत्रमा बाघको छाला विक्री भइरहेको छ भनेर खोजी गर्न थाल्यो । 

फेरि चितवन प्रहरीलाई अर्को सूचना आयो, ‘नारायणगढको पुल्चोकमा बाघको छाला विक्रीको लागि ल्याइएको छ ।’ जिल्ला प्रहरी कार्यालय चितवनको टोली बाघको छाला खरिद गर्न ग्राहक बनेर पुल्चोक पुग्यो । बाघको छाला विक्री गर्ने समूह भेट्यो । प्रहरी टोलीले २५ लाखबाट बाघको छालाको मोलमोलाई सुरु गरेको थियो । २५ लाखमा मोलमोलाई हुँदै गर्दा चितवन प्रहरीले पुल्चोकबाट बाघको छालासहित तीन जनालाई पक्राउ गर्न सफल भयो ।  

पक्राउ पर्नेमा जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ७ ईट्टाभट्टी बस्ने ४३ वर्षका दीपक भन्ने चिरञ्जीवी सेन ठकुरी, जिल्ला पाल्पा निस्डी गाउँपालिका वडा नं. २ सहलकोट बस्ने ३३ वर्षका चुमबहादुर राना र जिल्ला वाग्लुङ ढोरपाटन नगरपालिका वडा नं. ९ बस्ने २६ वर्षका हिम साङ्वो गौचन रहेका छन् । उनीहरुको साथबाट रातो झोला र ना २४ प २५०९ नम्बरको १५० सिसीको निलो पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ । 

बाघको दाँतसहितको छाला तीन थानसहित उनीहरुलाई पक्राउ गरिएको चितवन प्रहरी प्रवक्ता एकनारायण कोइरालाले बताए । उनका अनुसार तीन जना मिलेर जिल्ला बाग्लुङ ढोरपाटन ९ बोबाङ शेराबाङबाट बेचबिखनको लागि ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बरामद उक्त बाघको छाला र पक्राउ मानिसहरुलाई आवश्यक कानुनी कारवाही तथा अनुसन्धानको लागि जिल्ला डिभिजन वन कार्यालय चितवनमा बुझाइएको छ । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रण अन्तर्राष्ट्रिय महासन्धिको अनुसूची १ मा उल्लेखित भए अनुसार बाघ दुर्लभ एवम् संकटान्मुख वन्यजन्तुमा पर्दछ ।

नेपाल समेत उक्त सन्धिको हस्ताक्षरकर्ता भइ नेपाल सरकारले संकटापन्न ‘बन्यजन्तु तथा बनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३’ समेत बनाई लागु गरिसकेको अवस्थामा संकटापन्न र लोपोन्मुख वन्यजन्तुको आखेटोपहार ओसारपसार, बिक्री बितरण वा कुनै पनि किसिमको निकासी पैठारीमा पूर्ण रुपमा बन्देज लगाएको छ । 

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ र संकटापन्न वन्यजन्तु तथा बनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ अनुसार दण्ड सजाय पाँच लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
      

प्रतिक्रिया दिनुहोस