काठमाडौँ । राष्ट्रिय जनमोर्चा नेपालले सङ्घीयताविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ। असोज ४ र ५ गते जनमोर्चाको परिषद्को ऐतिहासिक दोस्रो बैठकले यस्तो निर्णय गरेको हो ।
चित्रबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले १७ बुँदे आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । ‘राष्ट्रिय जनमोर्चाले सङ्घीयताको खारेजीका लागि राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको छ । यो आन्दोलन राष्ट्रिय जनमोर्चाको मात्र नभएर नेपालको सम्पूर्ण जनताको आन्दोलन हो । यदि सङ्घीयता खारेज नभएमा मुलुक झन्पछि झन् विदेशी ऋणको मारमा पर्ने छ ’ विज्ञप्तिमा भनिएको छ ‘सङ्घीयताबाट देशको सार्वभौमसत्ता र राष्ट्रियतामाथि खतरा उत्पन्न हुने भएकोले यो आन्दोलन मुलुकलाई माया गर्ने सम्पूर्ण देशभक्तहरूको आन्दोलन हो । ’
बुटवलमा सम्पन्न बैठकले नेपाली काँग्रेस र एमालेले अगाडि सारेको संविधान संशोधनको विषयलाई राजा तथा राजावादी शक्तिहरूले राजतन्त्रको पुनर्स्थापनाका लागि प्रयोग गर्न सक्ने खतरा रहेको दाबी गरिएको छ । ‘नेपाली कांग्रेसको महासमितिभित्र संवैधानिक राजतन्त्रका पक्षधरहरू बहुमतमा छन् । त्यो पक्षले लगातार गणतन्त्रको विरोध गर्दै राजासहितको प्रजातन्त्रमा जोड दिने गरेका छन् ।
नेपाली कांग्रेसभित्रको वैधानिक राजतन्त्रका पक्षधरहरूले संविधान संशोधनलाई वैधानिक राजतन्त्रको पुनर्स्थापनाको रूपमा प्रयोग गर्न सक्ने सम्भावना पनि रहेको छ ’ विज्ञप्तिमा भनिएको छ ‘अन्ततः राजा, नेपाली कांग्रेसभित्रको संवैधानिक राजतन्त्रका पक्षधर तथा भारतीय साम्राज्यवादका बिच जुनसुकै रूपको भए पनि राजतन्त्र पुनर्स्थापनाका लागि साँठगाँठ हुन सक्ने सम्भावना पनि रहेको छ ।
परिषद्को बैठकले जनआन्दोलन दिवस अर्थात् चैत्र २४ गतेको अवसर पारेर सङ्घीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असोज २०८१, १० : ३०
लेखकबाट थप