सुशासन बिना विकास र समृद्धि सम्भव छैन : प्रचण्ड

शुक्रबार, १९ माघ २०७४, १९ : ४६
सुशासन बिना विकास र समृद्धि सम्भव छैन : प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुशासन बिना विकास र समृद्धि सम्भव नहुने बताउनु भएको छ ।
शुक्रबार दिउँसो नेपाल ह्याचरी उद्योग संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीले विकास र समृद्धिको कुरा गरेका छौं । तर, सुशासन बिना विकास र समृद्धि सम्भव छैन । राज्यको दह्रो हात बनाएर कार्यान्वयनमा प्रभावकारी रुपमा नजाने हो भने सुशासन स्थापित हुँदैन, सुशासन नभइकन विकास र समृद्धि हासिल गर्न पनि सकिँदैन ।’
‘घोषणा ठूलो कुरा होइन, कार्यान्वयन ठूलो कुरा हो’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिलेका ऐन, कानून, नीति, नियम र कर्मचारीको सोच्ने तरिका तपाई हामीसँग मिल्दैन । हिजो राजा महाराजा थिए, तिनले तलसम्म त्यस्तै सिष्टम बसाए । राजनीति र कर्मचारीमा पनि छोटे राजाको प्रवृत्ति कायम थियो, त्यो संस्कारकै रुपमा हुर्कियो । यस्ता नीति नियममा परिवर्तन नगर्ने हो भने, पुरानो सोंचका विरुद्ध नलड्ने हो भने सुशासन कायम गर्न सकिँदैन, यसमा राज्यको बलियो हात चाहिन्छ ।’
‘नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ । मूख्य रुपमा हामीमा ईच्छाशक्ति हुनुपर्छ’ प्रचण्डले भन्नुभयो, ‘पोल्ट्री व्यवसाय नेपालमा आत्मनिर्भर भएको छ । कृषि र कृषिमा आधारित क्षेत्रहरुलाई मात्रै आत्मनिर्भर बनाउन सक्यौं भने विकासको आधार त्यही हुन्छ । अब तपाई हामी सबैको ध्यान त्यतातिर जानुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस