चितवनको पदमपुरमा अध्यात्मरामायण धान्याञ्चल महायज्ञ हुँदै

शुक्रबार, १९ माघ २०७४, १८ : ४५
चितवनको पदमपुरमा अध्यात्मरामायण धान्याञ्चल महायज्ञ हुँदै

पदमपुर, चितवन । चितवनको कालिका नगरपालिका वडा नं. ३ पदमपुरमा विद्यालयको स्तरोन्नती एवम् मन्दिर निर्माण तथा जीर्णोद्वार गर्ने उद्देश्यले यही माघ २४ गतेबाट फागुन ३ गतेसम्म धनधान्याञ्चल महायज्ञ हुने भएको छ । स्थानीय वनकट्टा आधारभूत विद्यालय र जनहित आधारभूत विद्यालयको स्तरोन्नती गर्न सो आध्यात्मरामायण धनधान्याञ्चल नवाह भक्ति ज्ञान महायज्ञ गर्न लागिएको मूल समारोह समितिका संयोजक केशव अधिकारीले जानकारी दिए ।

सोही वडामा रहेको ज्योतीविन्दु मुक्तेश्वर महादेवको मन्दिरको जीर्णोद्वार गर्न र सोही स्थानमा भगवती मन्दिर निर्माण गर्ने समेत मुख्य उद्देश्य रहेको अधिकारीले जानकारी दिए । कालिका वडा नं. ३ को वडा परिसरमै रहेको सो मन्दिर निर्माणस्थलमा हुन लागेको महायज्ञमा १ करोड रुपैया संकलन गर्ने लक्ष्य लिइएको सोही वडाका वडा अध्यक्ष टिकाराज रिजालले बताए । सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुलाई अंग्रेजी माध्यममा शिक्षा दिन अनिवार्य भएकोले आर्थिक अभावका कारण धनधान्याञ्चल गर्नुपरेको अध्यक्ष रिजालले जानकारी दिए । विद्यालयको अतिरिक्त धार्मिक क्षेत्रको संरक्षण गर्ने समेत महायज्ञको मुख्य उद्देश्य रहेको उनले बताए ।

प्रख्यात आध्यात्मिक गुरु श्री देवीशरणनन्दजी महाराजले ९ दिनसम्म सो महायज्ञमा भावपूर्ण संगीतमय शैलीमा श्रीराम कथा वाचन गर्नेछन् । धनधान्याञ्चल महायज्ञको अवसरमा स्थानीय र स्वदेश एवम् विदेशमा रहेका धर्मानुरागीहरुले सहयोग गर्ने महायज्ञ प्रचार प्रसार समितिका संयोजक पुण्य प्रसाद कडुवालले जानकारी दिए । महायज्ञ हुने थाहा पाई स्वदेश तथा विदेशबाट सहयोग गर्न प्रतिबद्धता समेत प्राप्त भएको उनले बताए ।

महायज्ञमा सहयोग गर्ने सहयोगीदाताहरुलाई उच्च सम्मान गर्ने समेत आयोजकले बताएका छन् । महायज्ञमा तुलादानबाट पनि सहयोग गर्न चाहने धर्मानुरागीले सहयोग गर्ने छन् भने सो महायज्ञ अवधिमा खाना खुवाउन चाहने सहयोगीदाताहरुबाट पनि सहयोग लिने लक्ष्य रहेको सोही वडाकी वडा सदस्य एवम् प्रचार समिति सदस्य फुल कुमारी चौधरीले बताइन् । यस क्षेत्रमा हुन लागेको वृहत धनधान्याञ्चल महायज्ञमा सबै जातजाती, धर्मावलम्वीहरुको सहयोग रहेको उनले बताइन् । विद्यालयलाई स्तरोन्नती गर्ने र मन्दिर बनाउने भनेपछि स्थानीय सबै उत्साहित छन्, उनले भनिन् ।

महायज्ञको कलश यात्रा माघ २४ गते बुधबार बिहान शुरु हुँदैछ । कलश यात्रा सहितको ¥यालीले पदमपुरका विभिन्न क्षेत्रहरु परिक्रमा गर्ने बताइएको छ । सो महायज्ञ उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले एक कार्यक्रमका बिच उद्घाटन गर्ने समेत बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस