सर्वसाधारणले हेर्न पाएनन् संविधान दिवसको कार्यक्रम

शुक्रबार, ०३ असोज २०७६, १६ : ५०
सर्वसाधारणले हेर्न पाएनन् संविधान दिवसको कार्यक्रम

काठमाडौँ । संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा संघीय सरकारले विशेष कार्यक्रमको आयोजना गर्‍यो। कार्यक्रम हेर्न पुगेका सर्वसाधारण भने टुँडिखेल बाहिरैबाट पनि कार्यक्रम हेर्न वञ्चित भए।

मुल कार्यक्रमस्थलमा त सर्वसाधारणलाई प्रवेश गर्न दिइएन नै, फलामे पर्खाल बाहिर बसेर कार्यक्रम हेरिरहेका सर्वसाधरणलाई सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै हटाए। पर्खालबाहिरैबाट कार्यक्रम हेर्न खोजेका सर्वसाधारणलाई सुरक्षाकर्मीले त्यहाँबाट हटाएपछि दुखी भए।

तेह्रथुम सोल्मा गाविस वडा नम्बर ७ की पार्वती कार्कीले भनिन् ‘मन साह्रै दुखायो।’ उपचारका लागि राजधानी आएकी पार्वती सरकारले आव्हान गरेको संविधान दिवसको कार्यक्रम बाहिरैबाट भए पनि हेर्न चाहन्थिन्।

विराटनगरका गुरु अधिकारी र कृष्ण दाहालको अवस्था पनि उस्तै रह्यो। कार्यक्रम स्थलमा छिर्न त पाएनन् नै पर्खाल बाहिर बसेर पनि हेर्न नपाएपछि सडकमै बसेर उनीहरुले भाषण सुने।

टुँडिखेलमा राष्ट्रप्रमुख, सरकार प्रमुख, उच्च पदस्थ अधिकारी, विशिष्ट अधिकारी, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख ,राजनीतिक दलका नेता कार्यकर्ता, सरकारी कर्मचारी लगायतको उल्लेख्य उपस्थिति थियो।

संविधान दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइएको छ।

प्रतिक्रिया दिनुहोस