प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

शुक्रबार, १९ माघ २०७४, १३ : ३७
प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री शुष्मा स्वराजबीच भेटवार्ता भएको छ ।
शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटेपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको यसपटकको नेपाल भ्रमण सकिएको छ ।

भेटवार्ताका क्रममा भएको छलफलका विषयमा प्रधानमन्त्रीको निजी सचिवालयले केही सार्वजनिक गरेको छैन । प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलमा भारतीय विदेशमन्त्री स्वराजसँग भेटवार्ता भएको र भेटवार्ताका क्रममा नेपाल–भारतबीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको उल्लेख छ ।

बिहीबार अपरान्ह नेपाल आएकी उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक भेटवार्ता शुरु गरेकी थिइन् । बिहीबार साँझ एमालेले उनलाई काठमाडौंको होटल सोल्टीमा रात्रीभोज दिएको थियो । त्यहीँ एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एक्लै र एमालेका  अरु नेताहरुसँग स्वराजले सामूहिक भेट गरेकी  थिइन् ।

शुक्रबार विहान भने स्वराजले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी थिइन् । उनले शुक्रबार नै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरिन् । शुक्रबार नै उनले शितलनिवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता  गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस