प्रदेशसभाको प्रथम बैठकका लागि सभाकक्षको तयारी

शुक्रबार, १९ माघ २०७४, १३ : १२
प्रदेशसभाको प्रथम बैठकका लागि सभाकक्षको तयारी

महेन्द्रनगर, धनुषा । माघ २१ गते बोलाइएको प्रदेश नं २ को प्रथम बैठकको सभाकक्षको तयारी अन्तिम चरणमा पुगेको प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको सचिवालयले जनाएको छ ।

प्रदेश २ का ज्येष्ठ सांसद लगन चौधरीलाई संसद् सचिवालयको टोलीले बुधबार प्रशिक्षणसमेत दिएको छ । टोलीले उहाँलाई बैठक सञ्चालनका विधि र प्रक्रियाबारे प्रशिक्षण दिएको हो ।

संसद् सचिवालयका रञ्जित यादवले चौधरीको सिरहाको लहानस्थित घरमै पुगेर प्रशिक्षण गरिएको बताउनुभयो । चौधरीले पहिलो प्रदेशसभा बैठकको अध्यक्षता गर्नुहुनेछ । संसद् सचिवालयका यादवले बैठकमा प्रस्तुत हुने र पत्र वाचन गर्ने तरिकाबारे जानकारी तथा प्रशिक्षण गराएको बताउनुभयो ।

प्रदेशसभा सञ्चालन गराउने कर्मचारीलाई प्रशिक्षण दिन संसद् सचिवालयबाट सहसचिव वंशिधर पौडेलको नेतृत्वमा चार सदस्यीय टोली जनकपुर आएको छ । तर, सभा सञ्चालनका लागि सामान्य प्रशासन मन्त्रालयबाट तोकिएका कर्मचारी भने अझै आइपुगेका छैनन् ।

प्रदेशसभा सञ्चालनका लागि मन्त्रालयले २७ कर्मचारी पठाउने निर्णय गरेको थियो । “हाम्रो उद्देश्य बैठक सञ्चालन र प्रशिक्षण दिने हो तर प्रशिक्षण लिने कर्मचारी नै छैनन्” संसद् सचिवालयका कर्मचारी यादवले बताउनुभयो ।

प्रदेश २ को प्रथम अधिवेशन माघ २१ गते बोलाइएको छ । कर्मचारी नआए पनि सभाकक्षको तयारी भने अन्तिम चरणमा पुगेको छ । जिम्मेवारी बहन गर्ने कर्मचारी नआएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईले बताउनुभयो ।

यता प्रदेश नंं २ को पहिलो बैठकको विषयमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको आह्वानमा बिहीबार भएको सर्वदलीय बैठकले प्रदेश सभाको पोशाक, लोगो तथा प्रयोग गरिने भाषाका बारेमा निर्णय गरेको छ ।

अधिकृत संगम, धनुषाको सभाहलमा प्रदेश नंं २ का प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ सदस्य लगनलाल चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सभाका सदस्यहरुले आफ्नो अनुकूलको पोशाकमा कफी रङको कोट वा बण्डी (अलि ठूलो इस्टकोट) लगाउने निर्णय गरेको छ ।

विभिन्न पाँच राजनीतिक दलको प्रदेशसभा सदस्य सहभागी उक्त बैठकले प्रदेशसभामा राष्ट्रभाषाका अतिरिक्त स्थानीय भाषाको प्रयोग गर्न पाउने गरी सर्वदलीय सहमति भएको संघीय संसद् सचिवालयका सहसचिव वंशीराज पौडेलले बताउनुभयो ।

सहसचिव पौडेलले प्रदेशसभामा खटिने मर्यादापालकले हालका लागि सफारी सुट प्रयोग गर्नेगरी हिजो बसेको बैठकले पोशाक निर्धारण गरेको बताउनुभयो । सर्वदलीय बैठकले प्रदेशसभा सदस्यको लोगो पनि तय गरेको छ । लोगोको माथिल्लो भागमा जानकी मन्दिरको तस्वीर हुनेछ भने तल हरियो फाँट र किसानको तस्वीर हुने प्रदेशसभा सांसद रामआषिश यादवले बताउनुभयो ।

त्यसैगरी, प्रदेशसभाको २१ गते हुने पहिलो बैठकको कार्यसूची पनि निर्धारण गरिएको छ । कार्यसूचीमा प्रदेश प्रमुखको पत्र ज्येष्ठ सदस्य लगनलाल चौधरीले पढेर सुनाउने गरी कार्यविधिमा उल्लेख गरिएको छ ।

प्रदेशसभाको अध्यक्ष मण्डल पाँच सदस्यीय राख्ने भएको छ भने लोगो, दर्शक पास तथा विशेष पासको विषयमा पनि छलफल भएको र यससम्बन्धी अन्तिम निर्णय आज हुने बैठकले तय गर्ने सहसचिव पौडेलले बताउनुभयो ।

सर्वदलीय बैठकमा प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिमा बढीमा ११ जना सदस्य मनोनयन गर्ने निर्णय गर्नुका साथै सभामुखको निर्वाचन, दलका सचेतक तथा संसदीय दलका नेता चयन गर्ने विषयमा पनि छलफल भएको सहसचिव पौडेलले जनाउनुभयो ।

त्यसैगरी, प्रदेशसभाको बैठकमा प्रस्तुत हुने प्रस्तावित प्रदेशसभाको कार्यसञ्चालन अन्तरिम कार्यविधि–२०७४ को मस्यौदा अध्ययनका लागि आजको सर्वदलीय बैठकमा प्रदेशसभाका सदस्यलाई प्रदान गरिएको छ । अध्ययन पछि यसमा आवश्यकताअनुसारको संशोधनका लागि सुझावसहित आज हुने बैठकमा पेश गर्न प्रदेशसभाका सदस्यलाई आग्रह गरिएको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कायस्थले प्रदेशसभाको पहिलो बैठकलाई ऐतिहासिक बनाउनका लागि सबै प्रदेशसभाका सदस्यलाई आग्रह गर्नुभयो ।

संघीय संसद्ले प्रदेशसभाको पहिलो बैठक सञ्चालनका लागि सहसचिव वंशीराज पौडेलको नेतृत्वमा एकजना उपसचिव तथा दुईजना शाखा अधिकृतलाई परिचालन गरेको भएपनि अन्य कर्मचारीको अभाव रहेको जानकारी संघीय संसद्का सहसचिव पौडेलले गराउनुभयो । बैठकको संयोजन धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईले गर्नुभएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस