कृषि क्याम्पसको भवन निर्माण शुरु हुने

शुक्रबार, १९ माघ २०७४, १२ : ४३

गाईघाट, उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका–५ स्थित सुष्मा मेमोरियल ट्रस्टको नाममा रहेको जग्गामा उदयपुर जिल्लामै पहिलो कृषि क्याम्पस सञ्चालन गर्नका लागि कृषि क्याम्पसको भवन निर्माण शुरु हुन लागेको छ ।

कटारीमा कृषि क्याम्पस सञ्चालन गर्नका लागि ट्रस्टको नाममा रहेको जग्गामध्य झण्डै आठ बिगाहा जग्गामा चैतको पहिलो हप्तादेखि नै वनविज्ञान र कृषि क्याम्पस भवन निर्माण कार्य शुरु हुन लागेको क्याम्पस व्यवस्थापन तथा भवननिर्माण समितिका संयोजक कृष्णप्रसाद बराल बताउनुहुन्छ ।

बरालका अनुसार दुई वर्षअघि नै कटारीमा कृषि क्याम्पस सञ्चालनका लागि सम्बन्धित मन्त्रालयबाट अनुमति प्राप्त भइसकेको र अहिले बजेट व्यवस्थापनसमेत भइसकेका कारण भवन निर्माणको तयारी अन्तिम चरणमा पुगेको हो ।

ठूला दुई भवनसहित छात्रावासको भवन निर्माण गर्नुपर्ने हुनाले अहिले प्राविधिकसँग यस विषयमा भवनको मोडालिटी तथा नक्शांकनको निर्माण कार्यको समेत तयारी भइरहेको संयोजक बराल बताउनुहुन्छ ।

यसका लागि कटारी नगरपालिकाले पहिलो किस्तास्वरुप रु ७० लाख बजेट विनियोजन गरिसकेको र विश्वविद्यालय अनुदान आयोगबाट समेत झण्डै रु सात करोड बजेट व्यवस्थापन भइसकेको बराल बताउनुहुन्छ ।

यता पूर्व सांसद भेषकुमारी राउतका अनुसार आफूहरुले यसअघिनै भवन निर्माणका लागि संसदीय कोषबाट रु ४० लाख बजेटसमेत व्यवस्था गरिसकेको बताउनुहुन्छ ।

अब आवश्यक रकम अझै सम्बन्धित निकायबाट व्यवस्था गर्ने पहल भइरहेका कारण कटारीमा १ नम्बर प्रदेशकै ठूलो कृषि क्याम्पस सञ्चालन हुन लागेको कुरा कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

प्रमुख श्रेष्ठका अनुसार कृषि क्याम्पस कटारी, उदयपुरको मात्र नभएर १ नम्बर प्रदेशकै गौरवको विषय भएका कारण यसको निर्माण र सञ्चालनका लागि कटारी नगरपालिकालगायत सबैले सक्दो पहल गर्ने र गर्नुपर्ने धारणा छ ।

सकेसम्म भवन निर्माण सम्पन्न गरेर आगामी शैक्षिक सत्रदेखि नै क्याम्पससमेत सञ्चालन हुने कुरा भवन निर्माण तथा व्यवस्थापन समितिका पदाधिकारी बताउँछन् ।(रासस)

प्रतिक्रिया दिनुहोस