धार्मिक आस्थाको केन्द्र मदारबाबा मेला

शुक्रबार, १९ माघ २०७४, १२ : ४०

नवलपरासी । हिन्दू र मुस्लिम समुदायका लागि संयुक्त धार्मिक आस्थाको केन्द्र बनेको मदारबाबा मेला यस वर्ष आगामी माघ २२ गतेदेखि लाग्ने भएको छ ।

हिन्दू र मुसलमान समुदायका लागि धार्मिक आस्थाको केन्द्र रहेको मदारबाबाको मेला लाग्ने स्थल नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) सुस्ता गाउँपालिकाअन्तर्गत महलबारीबाट नौ किलोमिटर टाढा पहाडी क्षेत्रमा पर्दछ ।

मदारबाबाको मजारमा पुग्नका लागि लामो समय र अप्ठ्यारो बाटो तय गर्नुपर्ने हुन्छ । महलबारी गाउँबाट निकै कठिनाइपूर्वक नौ किलोमिटर पहाडी यात्रा गरेर बाबाको समाधीस्थल (मुख्य पूजा गर्ने स्थल) जानु पर्दछ ।

मुस्लिम तथा हिन्दू समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मेला मदारबाबा मेला मानिन्छ । मेलामा आएर मदारस्थलमा पूजाअर्चना गरेमा विशेष गरी सन्तान नभएकालाई सन्तात प्राप्तिसहित मनोकामना पूरा हुने मुख्य धार्मिक विश्वास रहिआएको हो ।

मदारबाबा महत्वपूर्ण धार्मिकस्थलको रूपमा देश र विदेशमा परिचित छ । यस मजारमा आएर पूजाअर्चना गरेमा भक्तजनको विभिन्न किसिमको समस्या, दुःख, पीरमर्का समाधान हुने साथै परिवारमा सुखशान्ति प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

मदारबाबा मेला विगत ३५ वर्षयता निरन्तर लाग्दै आएको छ । यस वर्षको मदारबाबा मेला आगामी फागुन १ गतेसम्म चल्नेछ । मेलामा आउने भक्तजनको सुविधा र व्यस्थापनका लागि स्थानीय कुतबुल मदारशाह दरगाह समितिले व्यवस्थापनको काम अघि बढाएको छ ।

मेलामा अत्यधिक भीड हुने भएकाले मेला व्यवस्थापन, शान्ति सुरक्षा, बाटो सडक मर्मत, खानेपानी व्यस्थापनलगायतका आवश्यक सबै तयारी पूरा गरिएको समितिका अध्यक्ष निजामुद्धिन मियाको भनाइ छ ।

आजभन्दा ६०१ वर्ष पहिले यहाँ एकजना मुस्लिम समुदायका धर्म गुरुले यस क्षेत्रमा पूजाआजा गर्दै आएकामा पछिल्लो ३०÷३५ वर्षदेखि प्रत्येक वर्ष बाबाको सम्झनामा मेला लाग्दै आएको यस मदार बाबा मेलाका वर्तमान धर्म गुरु अमिरुल्ला अन्सारीको भनाइ छ ।

मेलामा नेपाल र भारतका गरी कूल १० लाख भक्तजन आउने विश्वास लिइएको छ । सो मेलामा नेपालभन्दा अधिकांश भारतबाट भक्तजन आउने गर्दछन् ।(रासस)

प्रतिक्रिया दिनुहोस