छिटफुट वर्षा र हिमपातको सम्भावना

विहीबार, १८ माघ २०७४, १५ : १२
छिटफुट वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । उत्तर पश्चिम वायुको प्रभावका कारण आज पनि देशका विभिन्न भागमा बाक्लो तुवाँलो लागेको छ । उक्त वायुको प्रभावसँगै केही जलवास्पयुक्त हावाको समिश्रणले धुलोका कण तैरिएका कारण तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राजधानी काठमाडौँसहित देशका मध्य र पश्चिमी पहाडी क्षेत्रमा बढी तुँवालो लागेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुधबारदेखि शुरु भएको यो प्रणाली अझै केही दिन जारी रहनेछ । तुवाँलोका कारण भिजिबिलिटी कम हुने हँुदा हवाई उड्डयनमा समस्या आउनाका साथै घाम कमजोर लाग्ने छ ।
यसैबीच देशको सुदूरपश्चिम भेगका कतिपय स्थानमा छिटफुट वर्षा र हिमपातको सम्भावना रहेको छ । उक्त क्षेत्रमा पश्चिमी वायुको सानो प्रभाव देखिएकाले एक÷दुई दिनभित्र बदलीसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र छिटफुट वर्षात्को सम्भावना रहेको मौसमविद् श्रेष्ठको भनाइ छ ।

बुधबार मौसम बदली भएका कारण आज काठमाडौँको न्यूनतम तापक्रम बढेर ६.५ डिग्री सेल्सियस पुगेको छ । तुवाँलोले घाम कमजोर लागे पनि तुलनात्मक रुपमा केही तातो महसुस गरिएको छ ।
यही १४ गते आइतबार न्यूनतम तापक्रम घटेर २.३ डिग्री सेल्सियस पुगेको थियो । यसअघि गत पुस २३ गते यस वर्षकै बढी चिसो न्यूनतम तापक्रम ० डिग्रीमा झरेको थियो ।(रासस)

प्रतिक्रिया दिनुहोस