अवरुद्ध रहेको इलाका प्रशासनको सेवा सञ्चालन

विहीबार, १८ माघ २०७४, १४ : ०३
अवरुद्ध रहेको इलाका प्रशासनको सेवा सञ्चालन

नुवाकोट । गत माघ ८ गतेदेखि अवरुद्ध रहेको इलाका प्रशासन कार्यालय सातबिसे कार्यालय आजदेखि सञ्चालनमा आएको छ ।
इलाका प्रशासन कार्यालयमा अधिकृत प्रमुख रहने दरबन्दी भए पनि पदपूर्ति नहुँदा काजमा रहेका नायब सुब्बाको कार्यकाल पूरा भएपछि बन्द भएको कार्यालयको सेवा आजदेखि सञ्चालनमा आएको हो ।

निमित्त प्रमुख रहेका ऋषेश्वर न्यौपाने काज अवधि पूरा भएसँगै बन्द भएको सेवा उहाँलाई नै निमित्त दिएर सेवा प्रवाह शुरु गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । इलाका कार्यालयको लागि अधिकृतको दरबन्दी भए पनि गृहमन्त्रालयबाट पदपूर्ति नहँुदा रोकिँदै आएको सेवा तत्कालको लागि पुनः अघि काजमा रहेका न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।
जिल्लाको दुर्गम तथा भौगोलिकरुपमा कठिनाइ रहेका स्थानका नागरिकलाई सहजरुपमा सेवा उपलब्ध गराउन स्थापना भएको इलाका प्रशासन कार्यालय बन्द हुँदा नागरिक सेवा लिन जिल्ला प्रशासन कार्यालय विदुर धाउन बाध्य हुँदै आएका थिए ।
इलाका प्रशासनबाट दुप्चेश्वर गाउँपालिकाको सबै वडा, तादी गाउँपालिकाको वडा नं १, २, ३ र ४ तथा पञ्चकन्या गाउँपालिकाको वडा नं ३ र ४ गरी १३ वटा वडाका नागरिकलाई सेवा दिँदै आएको छ । कार्यालयबाट नागरिकता, नाबालका परिचयपत्र, आदिवासी–जनजाति सिफारिश, प्रमाणित सिफारिशलगायतको सेवा उपलब्ध गराउँदै आएको छ ।,  (रासस)

प्रतिक्रिया दिनुहोस