हैटौँडा । प्रदेश नम्बर ३ को पहिलो बैठक सुरू भएको छ । दिउँसो १ बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको छ भने तोकिएका र प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको छ । प्रदेशसभाको पहिलो बैठक भएकाले तयारी र अभ्यासमा केही अलमल देखिए पनि सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए ।
संघीयता लागूपछिकै पहिलो प्रदेशसभा बैठक बस्न लागेकाले बैठकस्थलमा उच्च कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मीको उपस्थिति क्रमशः बढ्न थालेको छ । ज्येष्ठ सदस्य डोरमणि पौडेलको अध्यक्षतामा बसेको आजको बैठकले प्रदेशसभाको सभामुखका निर्वाचनका लागि मिति तय गर्नेछ ।
३ नम्बर प्रदेशसभामा एमालेका ५८, कांग्रेसका २१ माओवादी केन्द्रका २३, विवेकशील साझा पार्टीका ३, नेपाल मजदुर किसान पार्टीका १, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चाका १–१ गरी कुल ११० सांसद रहेका छन् ।
संविधानअनुसार निर्वाचन मिति घोषणा भएको मितिले ३० दिनभित्रमा प्रदेश सरकार गठन गरिसक्नुपर्ने छ भने पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्नेछ ।
प्रदेश नम्बर ३ मा एमाले एक्लेको बहुमत (५८ सांसद) छन् । प्रदेश नम्बर ३ मा एमाले–माओवादीले मुख्यमन्त्री र सभामुख एमालेकै भागमा पर्ने गरी यसअघि नै पद बाँडफाँड गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस