चीनले कश्मीर विवाद सुल्झ्याउन भनेपछि भारतको यस्तो जवाफ

एजेन्सी

शनिबार, ११ साउन २०७६, १५ : ५९
चीनले कश्मीर विवाद सुल्झ्याउन भनेपछि भारतको यस्तो जवाफ

एजेन्सी । चीनले भारत र पाकिस्तानलाई कश्मीर विवाद वार्ताबाट सुल्झ्याउन आग्रह गरेको छ । द इकोनोमिक टाइम्सका अनुसार चीनले भारत र पाकिस्तानबिचको सम्बन्ध सुधार हुनु पर्ने र त्यसका लागि अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायले भूमिका निर्वाह गर्नु पर्ने बताए ।

दुई छिमेकी भारत र पाकिस्तानबिच शान्तिपूर्ण सम्बन्ध होस् भन्ने आफ्नो चाहना रहेको चीनको विदेश मन्त्रालयका अधिकारीले उल्लेख गरेका छन् ।

चीनको भनाईमा भारतको विदेश मन्त्रालयले कडा प्रतिक्रिया दिएको जनसत्ता पत्रिकामा खबर छ । कश्मीरसहितका सबै विषय भारत र पाकिस्तानबिचको द्विपक्षीय विषय रहेको विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

विदेश मन्त्रालयले भनेको छ, ‘यस विषयमा अमेरिकाको प्रस्तावका बारेमा हामीले यसअघि नै आफ्नो धारणा स्पष्ट पारेका छौँ । हाम्रो सोचमा कुनै परिवर्तन आएको छैन ।’

केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको भेटमा कश्मीरको मुद्दा सल्ट्याउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई वार्ताका लागि मध्यस्थता गर्न प्रस्ताव गरेको बताएका थिए । भारतले त्यसको खण्डन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस