बेलायती लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्सुक

सोमबार, १५ माघ २०७४, १२ : ४८
बेलायती लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्सुक

काठमाडौँ । नयाँ सरकार बन्ने प्रक्रियामा रहेका बेला बेलायती लगानीकर्ताहरुले नेपालमा लगानीका लागि चासो देखाएका छन् ।

यसैक्रममा युके नेपाल फ्रेण्डसिप सोसाइटीका कार्यकारी निर्देशक अलान मार्सल स्यान्काको नेतृत्वको टोलीले नेपालमा लगानीमा सभ्भावित लगानीहरुको बारेमा अध्ययन गरेको छ । नेपालको साताव्यापी भ्रमणमा आएको स्यान्का नेतृत्वको चार सदस्यीय टोलीमा डा. रेमण्ड भेडिस, पल नास र स्टेफेन किंग रहेका छन् । जसमध्ये डेभिस हाइड्रोपावर विज्ञ हुन् भने नास पर्यटन र वन्यजन्तु विज्ञ हुन् । यसैगरी, किंग फिल्म निर्माता तथा चित्रकार हुन् ।

उनीहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, नेपालस्थित बेलायती राजदूत रिचर्ड मोरिस, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, परराष्ट्रविद् डा. राजन भट्टराई, म्याग्सेसे पुरस्कार विजेता महापवीर पुन, नेपाल बैकर्स एशोशियसनका अध्यक्ष अनिलकेशरी शाह, नेपाल बेलायत चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेन्द्र खेतान, उद्योगपति अरुण चौधरी, सीइडीबी हाइड्रो फण्ड लिमिटेडका पदाधिकारीलाई भेट गरी लगानीका सम्भाव्यता बारे छलफल गरेका छन् ।

भेटमा बेलायती टोलीले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छा व्यक्त गरेको थियो । यूके नेपाल फ्रेण्डसिप सोसाइटीका कार्यकारी निर्देशक बेलायती लगानीकर्ताहरु नेपालमा लगानी गर्नका लागि उत्सुक रहेकाले वातावरण बनाइदिन आग्रह गरेका थिए । यसैगरी, नेपालको पर्यटन, कला क्षेत्रमा पनि आफूहरु लगानी गर्न आफूहरु उत्सुक रहेको उनको भनाइ थियो ।

युके नेपाल फ्रेण्डशिप सोसाइटीले नेपालको उद्योग व्यावसाय, कला, संस्कृत र पर्यटन क्षेत्रमा विशेष चासो देखाएको सोसाइटीका नेपाल संयोजक गणेश पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस