अर्थ समितिका सभापतिको अर्थहीन श्रीलंका भ्रमण, चालीस लाख स्वाहा

सफल खबर संवाददाता

सोमबार, ३० असार २०७६, १८ : ०३
अर्थ समितिका सभापतिको अर्थहीन श्रीलंका भ्रमण, चालीस लाख स्वाहा

काठमाडौं । नेकपाका सांसद एवम् अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल १४ औँ पश्चिम एसिया बेसबल कपमा सहभागी हुनका लागि दलबलसहित श्रीलंका पुगेका छन् । उनको यो भ्रमणले सरकारी ढुकुटीको ४० लाख रुपैयाँ स्वाहा हुने भएको छ ।
बेसबल प्रतियोगितामा सहभागिता जनाउन पुगेको नेपाली टोलीसँगै अर्थ समितिका सभापति दाहाल, राष्ट्रिय सभाका सांसद रामचन्द्र राई, पूर्व सभासद अनन्त पौडेल पनि श्रीलङ्का पुगेका हुन् ।

खेल क्षेत्र वा बेसबलसँग कुनै सरोकार नभएपनि अर्थ समितिका सभापति दाहाल नातामा भाई पर्ने दीपक न्यौपानेको डिजाइनमा सरकारी खर्च गर्नेगरी श्रीलङ्का पुगेका हुन् ।

सोमबारबाट श्रीलङ्कामा सुरु भएको १४ औँ पश्चिम एसिया बेसबल कपमा नेपालले सहभागिता जनाएको छ । नेपालको पहिलो खेल १६ जुलाईमा श्रीलङ्कासँग हुँदै छ ।

अर्थ समितिका सभापति दाहालको मामाको छोरा हुन् दीपक न्यौपाने । न्यौपाने नेपाल बेसबल तथा सफ्टबल एशोसिएसनका महासचिवसमेत हुन् । त्यसअघि उनी पूर्व सभासद अनन्त पौडेलका स्वकीय सचिव थिए ।

हाल दीपक न्यौपाने राष्ट्रिय सभाका सांसद रामचन्द्र राईका स्वकीय सचिव रहेका छन् । यिनै दीपकको डिजाइनमा राज्यकोषबाट ४० लाख रुपैयाँ लिने गरी करिब ३५ जनाको टोलीसहित उनीहरु श्रीलङ्का पुगेका हुन् ।

शनिवार श्रीलङ्का पुगेर उनीहरुले घुमघामसमेत सुरु गरेका छन् । आइतबार उनीहरुले श्रीलङ्काको समुद्री तट घुमेको फोटोसमेत सामाजिक सञ्जालमा पेश गरिसकेका छन् ।
अर्थ समितिका सभापति कुन उद्देश्यले किन श्रीलङ्का पुगेका हुन् भनेर सभापति दाहालका स्वकीय सचिव हरिशरण तिमल्सिनालाई सोध्दा उनले सभापति श्रीलङ्का गएको पुष्टि गरेपनि किन र कसको खर्चमा गएको हो थाहा नभएको बताए ।

उनले भने ‘सभापतिज्यू, शनिबार श्रीलङ्का जानुभएको हो । मैले सुनेअनुसार उहाँ बेसबल प्रतियोगितामा सहभागिता जनाउन जानुभएको छ । तर, भ्रमण औपचारिक हो कि अनौपचारिक हो र कसको खर्चमा कसरी जानुभएको हो त्यो चाहिँ थाहा छैन ।’

अर्थ समितिका सभापति बेसबल प्रतियोगितामा सहभागी हुनुपर्ने कुनै आधार र कारण छैन । यद्यपि उनले सभामुख कृष्ण बहादुर महरालाई मौखिक जानकारी गराई केही दिनका लागि श्रीलङ्का गएको बताएका छन् ।

बेसबल संघका महासचिव दीपक न्यौपानेले राज्यकोषबाट रकम लिने गरी उनीहरुलाई श्रीलङ्का घुमाउन लगेका हुन् ।

बेसबस संघकै लेटर प्याडमा खेलकुद परिषद्मा ४० लाख रकम माग गरी दीपकले निवेदन दिएका थिए । तर खेलकुद परिषद्मा रकम नभभएको भन्दै परिषद्ले खेलकुद मन्त्रालयलाई रकम दिलाइदिन सिफारिश गरी पठाएको छ ।

प्रतिक्रिया दिनुहोस