सम्वाद, सहकार्य र छलफलबाट निकास खोज्न आह्वान

रासस

शनिबार, २८ असार २०७६, १९ : ४९
सम्वाद, सहकार्य र छलफलबाट निकास खोज्न आह्वान

चितवन । प्रजातान्त्रिक विचार समाजले सरकारलाई सम्वाद, सहकार्य र छलफलबाट कार्य सम्पादन गर्न आह्वान गरेको छ । 

समाजको तेस्रो केन्द्रीय समितिको यहाँ सम्पन्न बैठकले सरकारले अहिले ल्याएका विधेयकहरु माथि सरोकारवालाका विमति देखिएको भन्दै सम्बन्धित पक्ष र विज्ञहरुसँग छलफल गरी निकास खोज्न आह्वान गर्ने निर्णय गरेको हो । 

समाजका वरिष्ठ उपाध्यक्ष एवं नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेका अनुसार सरकारले ल्याएका विधेयक सरोकारवालासँगको छलफल, विषय विशेषज्ञहरुसँगको परामर्श र संविधानसँग नबाझिने गरी कानून निर्माण गर्न बैठकले माग गरेको छ । 

केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीको अध्यक्षतामा बसेको बैठकले लोकतान्त्रिक संस्थाहरु माथि पछिल्लो समय भएका प्रहार रोक्न सम्बन्धित निकायसँग माग गरेको वाग्लेले जानकारी दिनुभयो । लोकतन्त्र र संसदीय व्यवस्थामाथि खतरा रहेको निष्कर्ष निकाल्दै बैठकले संरक्षणका लागि सबैलाई सक्रिय रहन आह्वानसमेत गरेको छ । यसका लागि सम्पूर्ण लोकतन्त्रवादीहरु एक हुन् र नेपाली काङ्ग्रेसलाई आवश्यक सहयोग गर्ने बैठकले निर्णय गरेको छ । 

सोही अवसरमा समाजको प्रदेश नं ३ को बैठकले आगामी भदौ २४ गते बिपी जयन्तीका अवसरमा नेपाली काङ्ग्रेसलाई सुदृढीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । समाजको बैठक शुक्रबार र आज गरी दुई दिनसम्म चलेको थियो ।

समाजको ११औँ महाधिवेशन पछिको यो तेस्रो बैठक हो । यसैबीच प्रजातान्त्रिक विचार समाज चितवनले आज यहाँ आयोजना गरेको अन्तरकलेज वक्तृत्वकला प्रतियोगितामा कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपु्रमा अध्ययनरत् प्रेम पाण्डे प्रथम हुनुभएको छ । 

‘बिपी कोइरालाको प्रजातान्त्रिक समाजवाद र यसका उपलब्धि’ विषयक वक्तृत्वकला प्रतियोगितामा बालकुमारी कलेजकी अन्जना थपलिया दोस्रो र वीरेन्द्र बहुमुखी क्याम्पसकी प्रिन्सी काफ्लेले तेस्रो स्थान प्राप्त गर्नुभएको छ । उहाँहरुले क्रमश नगद रु  पाँच हजार, तीन हजार र दुई हजारसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रतियोगितामा चितवन र नवलपुरका विभिन्न कलेजका गरी १५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा केसीले माक्र्सवादले समाजको विकास हुन नसक्ने भन्दै समाजको समानुपातिक विकासका लागि समाजवाद आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय नेपाली काङ्ग्रेसले  वौद्धिक वर्गसँग परामर्श नगरी अघि बढ्न खोज्नुको कारण अहिलेको अवस्थामा पार्टी पुगेको उहाँको भनाइ थियो । 

कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टी गलत बाटोमा हिड्न खोज्दा वौद्धिक समुदायले खबरदारी गर्न आवश्यक रहेको बताउनुभयो । प्रजातान्त्रिक विचार समाज चितवनका अध्यक्ष डा देवीप्रसाद कँडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस