पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभाषबाट शुक्रबार हराएको नवजात शिशु भेटिएको छ । तानसेन नगरपालिका–९ डाँडाडुमका २२ वर्षीय जमुना रानाको नवजात शिशु शुक्रबार अपराह्न ३ः०० बजेतिर अस्पतालबाट हराएको थियो ।
कालीगण्डकी गाउँपालिका मिर्मी बजार क्षेत्रमा आज बिहान शिशुसहित महिला भेटिएकी हुन् । पाल्पा र स्याङ्जा प्रहरीको टोलीले मिर्मी बजार क्षेत्रबाट शिशुसहित महिलालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले हराएको शिशु र शिशुलाई चोर्ने महिलालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय ल्याइरहेको बताउनुभयो ।
प्रसूतिका लागि जमुना शुक्रबार बिहान ९ः३० बजे लुम्बिनी मेडिकल कलेजमा आउनुभएको थियो । बिहान ११ः५६ मिनेटमा रानाको दुई किलो ७१० ग्रामको शिशु जन्मेको थियो । सुत्केरी छोरी जमुना रेखदेखका लागि आमा अस्पतालमा रहनुभएको थियो ।
करीब अपराह्न २ः०० बजे अपरिचित महिलाले जमुनाको आमासँग भर्खर जन्मेको शिशुलाई खेलाउन मागेको तथ्य बाहिर आएको छ । आमाले छोरी जमुनाका लागि झोलिलो परिकार खोज्न खाजाघर निस्केका बेला महिलाले शिशु चोरेर भागेको प्रहरीले जनाएको छ ।
अस्पतालमा सिसीटिभी नभए पनि होटलको सिसीटिभीको सहयोगमा शिशु बोकेर हिँडेकी महिलाको ‘फुटेज’ सङ्कलन गरेको प्रहरीले जनाएको छ । प्रहरीसँग रहेको फुटेजका आधारमा महिलाले पछाडि झोला, अगाडि शिशु बोकेर अस्पताल क्षेत्रबाट बाहिर निस्केको देखिएको थियो । करीब ४५ वर्षीया महिला हुनुपर्ने प्रहरीको अनुमान छ । ती महिलाको अझै सनाखत हुनसकेको छैन । (रासस)
प्रतिक्रिया दिनुहोस