संस्थापक मेयर मुक्तिलाल चुकेको निधनप्रति भरतपुर महानगरद्वारा दुःख व्यक्त

सफल खबर संवाददाता

शुक्रबार, १३ असार २०७६, १९ : ०६
संस्थापक मेयर मुक्तिलाल चुकेको निधनप्रति भरतपुर महानगरद्वारा दुःख व्यक्त

चितवन । भरतपुर महानगरले तत्कालिन भरतपुर नगरपालिकाका संस्थापक मेयर मुक्तिलाल चुकेको निधनप्रति दुःख व्यक्त गरेको छ । भरतपुुर महानगरपालिका प्रमुख रेनु दाहालले शुक्रबार एक विज्ञप्ति जारी गरी समाजसेवी एवं विकासप्रेमी मुक्तिलाल चुकेकोे निधनले सिङ्गो महानगर परिवार स्तब्ध भएको बताउनु भएको हो । 

उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘भरतपुर महानगरपालिका वडा नम्बर ३, नारायणगढ, निवासी तत्कालिन भरतपुर नगरपालिकाका प्रथम मेयर मुक्तिलाल चुकेको ८४ वर्षको उमेरमा आज भएको दुखद् निधनले हामीलाई अत्यन्तै मर्माहत बनाएको छ । यस दुःखको घडिमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनहरुमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।’ चुकेले भरतपुरको विकासमा पु¥याउनु भएको योगदानको उच्च प्रशंसा गर्दै उहाँलाई भरतपुर महानगरपालिकाले सधैँ स्मरण गरिरहने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

वि.स. १९९२ साल कार्तिक १ गते गुल्मी जिल्लाको बामीटक्सारमा पिता ज्योतिलाल चुके र माता गंगादेवी चुकेको कोखबाट कान्छा छोराको रुपमा स्वर्गीय चुकेको जन्म भएको थियो । चुकेको एक छोरी मिनु, तीन भाई छोरा उत्तमलाल, मनेशलाल र सिद्धार्थलाल हुनुहुन्छ ।

उहाँ भरतपुर नगर पञ्चायतको वि.स. २०३५ र २०३९ साल गरी दुई पटक प्रधानपञ्च र बहुदलीय प्रजातन्त्र पुनस्र्थापना पश्चात तेस्रो पटक २०४९ सालमा भरतपुर नगरपालिकाको मेयर पदमा विजयी हुनुभएको थियो । भरतपुर लगायत समग्र चितवनको विकासमा अग्रणी भूमिका निर्वाह गर्नुभएका चुके नेपाल रेडक्रस, बालकुमारी मा.वि. लगायतका अन्य सामाजिक संघ संस्थाहरुमा आवद्ध रही समाज सेवामा सधंै अग्रसर रहनुभयो । 

नारायणगढमा रहेको उहाँकै निवासमा आज (शुक्रबार) बिहान ११ बजे चुकेको  निधन भएको हो । स्व चुकेको अन्तिम संस्कार देवघाटमा शनिबार बिहान गरिने भतिजा दिनेशकुमार चुकेले जानकारी दिनुभयो । दाहासंस्कार अघि अन्तिम श्रद्धाञ्जलि दिनका लागि उहाँको पार्थिव शरीर काङ्ग्रेस चितवनको पार्टी कार्यालयमा राखिनेछ । 

प्रतिक्रिया दिनुहोस