वित्तीय अराजकता बढ्दै : संकटमा सनराइज बैंक

सफल खबर संवाददाता

विहीबार, १२ असार २०७६, १४ : २७
वित्तीय अराजकता बढ्दै : संकटमा सनराइज बैंक

काठमाडौं । वित्त क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले वित्तीय अराजकता रोक्न कुनै पनि पहल नगरेको भन्दै सर्वत्र चिन्ता व्यक्त गरिएको छ । नागरिकले खाइनखाई जम्मा पारेको निक्षेपमा को कसले बढी हिस्सा लिने र कसरी नाफामात्र कमाउने भन्ने ध्याउन्नमा लागेका कारण समस्या बढ्दै गएको हो । 
ठूला बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिको अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिृकतहरु नै एक अर्कालाई नटेर्ने अवस्थामा पुगेका कारण वित्तीय क्षेत्रमा समस्या बढेको छ । यसको एउटा जल्दोबल्दो उदाहरण बनेको छ, सनराइज बैंक ।
सनराइज बैंकको सञ्चालक समितिको बैठकले निरज श्रेष्ठलाई असार २ देखि लागू हुने गरेर चारवर्षे कार्यकालको लागि सिइओ पदमा नियुक्त गरेको थियो । तर सञ्चालकहरु नै एक आपसमा विवादमा उत्रेपछि निरजको नियुक्तिले वैधानिकता पाउने वा नपाउने भन्नेमा आशंका पैदा भएको छ । 
सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयलाई लिएर चर्केको विवादले सञ्चालक समिति नै भंग हुन सक्ने अवस्थामा पुगेको छ । निरज श्रेष्ठले बैंक सञ्चालन गर्न नसक्ने भन्दै सञ्चालक समितिका सदस्यहरु नै विभाजित देखिएका छन् ।
सञ्चालकको विरोध र सिइओ नियुक्ति प्रक्रिया संचालक समितिका अध्यक्ष मोतिलाल दुगडले एकल निर्णयबाट भएको भन्दै संचालक शैलेन्द्र गुरागाईँले सार्वजनिक रुपमा नै असन्तुष्टि जनाएका छन् । उनी स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) का अध्यक्ष समेत हुन् । 
जनता बैंकमा लफडा गरेर छाडेका गुरागाईँले सनराइजमा पनि चलखेल गरेको भन्दै केहीले आपत्ति जनाएका छन् । तर गुरागाईँले भने जनताको निक्षेपसँग जोडिएको विषयमा आफूले तथ्य जे हो त्यही सार्वजनिक गरेको बताएका छन् । 
असार २ गतेदेखि सिइओको कार्यभार सम्हाल्नु पर्ने श्रेष्ठले संचालक समितिमा देखिएको विवादको कारण सिइओ नहुने मनस्थिति बनाएका छन् । बैंकले नेप्सेलाई पत्र पठाएर तत्कालको लागि कायममुकायमको जिम्मेवारी आशा राणा अधिकारीलाई निरन्तरता दिने जनाएको छ । 
राष्ट्र बैंकले सनराइज बैंकमा भएको विवादलाई नजिकबाट हेरेको भन्दै विवाद साम्य नभएमा संचालक समितिनै भंग गर्न सक्ने सम्मको चेतावनी दिएको छ । तर राष्ट्र बैंकले भने सो विषयमा केही नगरिकन चुपचाप बस्ने रणनीति अख्तियार गरेको छ । 
नेपाल राष्ट्र बैंकका उच्च अधिकारीले सनराइजको संचालक समितिमा वरिष्ठ व्यक्तिहरु रहेको र आफ्नो प्रतिष्ठालाई ख्याल गरेर अगाडि बढ्नेमा आफूहरु विश्वस्त रहेको भन्दै समस्यामा हात नहाली चुपचाप बस्ने नीति अख्तियारी गरेको बताए । राष्ट्र बैंकको यो नीतिका कारण वित्तीय क्षेत्रमा अराजकता मौलाउने देखिएको छ ।  
‘वरिष्ठ व्यक्तिहरुको विवाद अब बढ्दैन भन्ने हाम्रो अनुमान छ, उहाँले पाको निर्णय लिनुहुन्छ, सानो कुराको विवाद हल गर्नुहुन्छ भन्ने हामी अनुमान गर्छौं’ नाम उल्लेख नगर्ने शर्तमा राष्ट्र बैंकका एक अधिकारीले बताए । 
राष्ट्र बैंकले संचालक समितिका सदस्यलाई विवाद नमिलेमा संचालक समितिमा भंग गर्न सक्ने अनौपचारिक रुपमा चेतावनी दिएको छ । राष्ट्र बैंकले संचालक समिति भंग गर्नुपर्ने अवस्था आउन नदिनको लागि संचालकलाई सचेत गराएको छ । तर सो बारेमा केन्द्रीय बैंकका अधिकारी स्पष्ट रुपमा खुला भएर बोल्न भने तयार छैनन् । 
राष्ट्र बैंकलाई यसरी बैंक तथा वित्तीय संस्थामा विवाद बढ्दा बैंकको संचालक समिति भंग गर्ने अधिकार छ । यसरी राष्ट्र बैंकले व्यवस्थापन टोली नै खटाएर बैंकलाई अल्पकालीन रुपमा सम्हाल्न सक्छ । विगतमा पनि विभिन्न बैंकमा राष्ट्र बैंकले संचालक समितिलाई भंग गरेर नियन्त्रणमा लिएको थियो । 
सनराइज बैंकको संचालक समितिमा मोतिलाल दुगड अध्यक्ष छन् । यस्तै सदस्यमा गुरागाईँ, बच्चराज तातेड, मालचन्द्र दुगड, शारदा शर्मा, दीपक नेपाल र ओमकृष्ण जोशी रहेका छन् । मारवाडीको बैंकको रुपमा रहेको यो बैंक विभिन्न आर्थिक अनियमिततामा फसेको भन्दै यसअघि पनि राष्ट्र बैंकले निगरानी गरेको भए पनि कुनै कारबाही नगरी छाडेको थियो ।  
सनराइज बैंकमा चारवर्षे कार्यकाल पूरा गरेर रत्नराज बज्राचार्य बाहिरिएपछि सिइओ पद खाली थियो । त्यसो त कतै पनि टिकेर काम नगर्ने, आफ्नोमात्रै निर्णय कार्यान्वयन हुनुपर्छ भन्ने स्वभावका निरजलाई माछापुच्छ«े बैंकले समेत कार्यावधि हुँदै हटाएको थियो । चार वर्षका लागि नियुक्त भएका श्रेष्ठ १५ महिनामा नै बैंक छाडेर हिँडेका थिए । 
स्थिर भएर नबस्ने व्यक्तिलाई बैंकमा ल्याएर दादागिरी गरिएको भन्दै मोतीलाल दुगडमाथि अन्य सञ्चालकले समेत आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस