गणतन्त्रको उपलब्धिबारे बहस गर्नुपर्ने

रासस

बुधबार, १५ जेठ २०७६, २१ : १४
गणतन्त्रको उपलब्धिबारे बहस गर्नुपर्ने

–शेरिफ केसी

काठमाडौँ । आज जेठ १५ गते, गणतन्त्र दिवस देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । लामो समयको सङ्घर्षपछि नेपालमा गणतन्त्र प्राप्ति भएको छ । विसं २००७ भन्दा अगाडिको आन्दोलनबाट नेपालमा गणतन्त्र माग गरिँदै आए पनि दोस्रो जनआन्दोलन २०६२÷६३ को सफलतासँगै नेपालमा गणतन्त्र प्राप्ति भएको छ । नेपालमा गणतन्त्रका लागि धेरै नेपालीले बलिदान दिएका छन् । गणतन्त्र स्थापनापछि के कस्ता उपलब्धि हासिल भए, मजदूर, किसानलगायत नेपालीको जीवनस्तरमा के परिवर्तन आयो, अहिले यो सबैको चासो र चर्चाका विषय बनेको छ । गणतन्त्रको उपलब्धिबारे मूल्याङ्कन  गर्नुपर्ने यहाँका विभिन्न वर्गका मानिस बताउँछन् । 
वाणगङ्गा नगरपालिका बोडगाउँकी आरती बेल्बासे गणतन्त्र आएपछि जनता स्वतन्त्र भएर बाँच्न पाएकामा खुशी हुनुहुन्छ । देश चलाउने ठूला नेताहरु दूरदर्शीका साथै इमान्दार र दृढ हुनुपर्ने सुझाव उहाँ दिनुहुन्छ  । 
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का नगरस्तरीय युवा सञ्जालका कोषाध्यक्ष  सायरा खातुन भन्नुहुन्छ,“गणतन्त्र आएपछि परिवर्तन त भएको छ तर यो परिवर्तन सोचेजस्तोे छैन ।” सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, प्रशासनिकलगायत सबै क्षेत्रमा पुरूषको तुलनामा महिलाको पहुँच ज्यादै न्यून रहेको उहाँको भनाइ छ  । खातुन भन्नुहुन्छ, “अझै भनौँ मुस्लिम महिलाको अवस्था त धेरै नाजुक छ, मुस्लिम समुदायमा दाइजो प्रथाले जरो गाडेर बसेको छ, धेरै बालिकाहरु सानै उमेरमा विवाह गर्न बाध्य छन्, बाहिरी संसारमा खुला आँखाले समेत हेर्ने अधिकार छैन मुस्लिम महिलालाई ।” महिलाहरुलाई पुरुषसरह उकास्न सरकारले आयआर्जनका कार्यक्रममा साथै जनचेतना पनि बढाउनुपर्ने उहाँको माग छ । 
सामाजिक सुरक्षा भत्ताका लागि जेठको चर्को घाममा घण्टौँसम्म  लाममा बस्नुपरेकामा बुद्धभूमि नगरपालिकाकी ६५ वर्षीया शिवकला पौडेल गुनासो पोख्नुहुन्छ । निर्वाचनका बेला घरमै वृद्धभत्ता पु¥याउँछौँ भनेर मत माग्ने नेताहरु फर्केर नआएकोे उहाँको दुखेसो छ । वृद्धहरुको स्वास्थ्य र सुरक्षामा सरकारले ध्यान दिनुपर्ने उहाँ माग गर्नुहुन्छ । स्थानीयवासी छमकला बञ्जाडे भन्नुहुन्छ, “ गणतन्त्रले महिला, वृद्धवृद्धा, अपाङ्गता भएका र  निम्न वर्गलाई हेर्नुपर्छ । ”
सोही नगरपालिकाका युवक तेजप्रसाद पाण्डे हिजो राजा बन्ने वंशानुगत परम्परा हटेकामा खुशी हुनुहुन्छ ।  अहिलेका नेताहरु राजनीतिक भागबण्डाका आधारमा चलेकामा भने उहाँको असन्तोष छ । विकासनिर्माणमा दलहरु मिलेर अघि बढ्नुपर्ने उहाँको सुझाव छ ।  वाणगङ्गा नगरपालिकाका घनश्याम पौडेल देशका कानून नै कमजोर छन् भन्दै हत्या, हिंसा र बलात्कारका घटना बढ्दै गए पनि सरकारले शान्तिसुरक्षा दिन नसकेको आरोप लगाउनुहुन्छ । शान्तिसुरक्षामा सरकारले आवश्यक दिनुपर्ने सुझाव पनि उहाँ दिनुहुन्छ । 
बुद्धभूमिका मजदूर रामकिशोर चौधरीले घर नजीकै सरकार आएकामा खुशी व्यक्त गर्दै  गणतन्त्रको सफल कार्यान्वयनका लागि समावेशी विकास हुनुपर्नेमा जोड दिनुहुन्छ । कपिलवस्तु नगरपालिकाका युवक श्रीधर खनालवर्तमान सरकारले जनताका अपेक्षा पूरा गर्न सके गणतन्त्र दिवसले सार्थकता पाउने भनाइ राख्नुहुन्छ । 

प्रतिक्रिया दिनुहोस