‘जनगणनाजस्तै पशुगणना पनि हुनुपर्छ’

सफल खबर संवाददाता

विहीबार, ०९ जेठ २०७६, १८ : १८
‘जनगणनाजस्तै पशुगणना पनि हुनुपर्छ’

काठमाडौँ । नेपालमा पशु कल्याणको सवलीकरणका लागि सञ्चारमाध्यमको भूमिका नामक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
बिहीबार स्नेहाज केयरको आयोजनामा सम्पन्न भएको अन्तरक्रियामा सरोकारवालाहरुले पशु कल्याण स्थापनाको लागि कानुनको अभाव औंल्याए । भएका कानुनहरुको पनि प्रभावकारी कार्यान्वयनमा समस्या रहेको टिप्पणी गरेका छन् । 
कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले पशुको कल्याण नै विभागको मुल मन्त्र रहेको सुनाए । उनले भने, ‘हामीले अहिले पशु कल्याणको लागि काम गरिरहेका छौं । पशु कल्याण निर्देशिका पनि जारी गरिसकेका छौं ।’ शर्माले छाडा पशुहरुलाई हेर्ने जिम्मेवारी आफूहरुको नभएर स्थानीय निकायको भएको पनि जिकिर गरे । 
यद्यपी उनले पशुसँग जोडिएर आएको विषय भएकोले यसबारेमा विभागले पनि आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास दिलाए । 
त्यस्तै, कार्यक्रममा पशुपन्छी विकास मन्त्रालयका पूर्वसचिव डा. कृष्णचन्द्र पौडेलले पशु कल्याणको आगामी कार्यदिशाको बारेमा प्रकाश पारेका थिए । उनले पशु कल्याण प्रवद्र्धनका लागि मिडियाको महत्वपूर्ण भूमिका रहेको स्पष्ट  पारे । 
पशुलाई पनि मानवलाईजस्तै पीडा हुने भएकोले पशुलाई मानवीय व्यवहार गर्नुपर्ने उनको धारणा थियो । उनले सबैले पशुपन्छीहरुको हितमा काम गर्नुपर्ने सुझाए । उनले जनगणनाजस्तै पशुगणना पनि हुनुपर्ने बताए । 
वातावरण कानुनका ज्ञाता अधिवक्ता पदमबहादुर श्रेष्ठले पशुहरुको अधिकारको लागि सम्बन्धित निकायलाई निरन्तर घचघचाउँदा पनि कुनै सुनुवाई नभएकोमा गुनासो पोखे । उनले भने, ‘हाम्रो सुनुवाई नहुँदा बाध्य भएर अदालत जानुपर्यो ।’
श्रेष्ठले पशुहरुको अव्यवस्थित ढुवानीलाई व्यवस्थित गर्नको लागि पनि सरकारसमक्ष आग्रह गरे । उनले थपे, ‘पशुहरुको संरक्षण गर्नुपर्छ । अदालतले अहिले पशु कल्याण ऐन बनाउनको लागि आदेशसमेत दिइसकेको छ ।’
उनले पशुमाथि निर्दयी व्यवहार गर्न नहुने पनि धारणा राखे । उनले पशु कल्याणको लागि स्नेहाज केयरजस्तै अन्य संस्था लागिपरे धेरै राम्रो हुने विश्वास व्यक्त गरे । 
त्यस्तै, ओआई फोकल प्वाइन्टका प्रतिनिधि डा. किरण पाण्डेले पनि आफूहरु विगत लामो समयदेखि पशु कल्याणसम्बन्धी काम गर्दै आएको सुनाए । उनले भने, ‘छाडा पशु व्यवस्थापनका लागि गौशाला निर्माण सहयोग जुटाएर गर्छौं ।’ 
कार्यक्रममा स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले आफू विगत ५ वर्षदेखि पशु कल्याणसम्बन्धी काम गर्दै आएको सुनाइन् । उनले पशु कल्याणलाई प्रभावकारी बनाउनको लागि मिडियाको भूमिका महत्वपूर्ण रहेको सुनाउँदै आगामी दिनमा पनि यसको भूमिका अझै सशक्त हुनुपर्नेमा जोड दिइन् । 
उनले भनिन्, ‘मिडियाले सुसुचित गरेपछि अहिले पशुहरुलाई माया गर्नेहरुको संख्या बढेको छ । मिडियाकै कारण पशु कल्याणबारे आम मानिसहरु सुसुचित हुनुभएको छ । यो त हामीजस्तो पशु कल्याणमा काम गर्नेहरुको लागि खुशीको कुरा हो ।’ 
 

प्रतिक्रिया दिनुहोस