बेलायती मन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट

सफल खबर संवाददाता

बुधबार, ०८ जेठ २०७६, १५ : ५९
बेलायती मन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट

ललितपुर । बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सगले आज दिउँसो अध्यक्ष प्रचण्डसँग भेट गर्नुभएको छ । ललितपुरस्थित अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका बिषयमा छलफल भएको थियो । भेटमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरु आर्थिक समृद्धिका लागि अगाडि बढेको बताउनुभयो । 
उहाँले भन्नुभयो, ‘ आर्थिक विकासका लागि हामीलाई धेरै प्राविधिक जनशक्तिको आवश्यकता पर्ने भएकाले हामीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी वर्तमान सरकार र पार्टीले व्याबहारिक तथा व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेका छौं ।’ 
अध्यक्षले शान्ति प्रक्रिया, नयाँ संविधान र तीन तहको निर्वाचन पश्चात अबको देशको आर्थिक समृद्धिमा नै एक मात्र लक्ष्य रहेको प्रष्ट्याउनुभयो । देशमा लगानीमैत्री वातावरणका लागि वर्तमान समय उचित रहेको बताउनुहुँदै अध्यक्षले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको औल्याउनुभयो । 
बेलायतकी मन्त्री सगले नेपालमा महिलाहरुको राजनीति र सामाजिक क्षेत्रमा भएको सहभागिताले आफू अत्यन्त प्रभावित बनेको बताउनुभयो । उहाँले स्थानीय, प्रदेश र केन्द्रका निर्वाचनमा महिलाहरुको सहभागिता दुनियाँका लागि उदाहरणीय कार्य भएको बताउनुभयो । 
उहाँले नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार पनि सहयोगका लागि तत्पर रहेको बताउनुभयो ।
 

प्रतिक्रिया दिनुहोस