प्रहरीको गोली लागी घाइते भएका विप्लव कार्यकर्ताको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०८ जेठ २०७६, १० : २८
प्रहरीको गोली लागी घाइते भएका विप्लव कार्यकर्ताको मृत्यु

भोजपुर । भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहानपछि घाइते भएका विप्लव कार्यकर्ताको मृत्यु भएको छ। मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रहरीको  गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाक काउलेमा विप्लव कार्यकर्ता तिर्थराज घिमिरे गम्भिर घाइते भएका थिए।

गम्भिर घाइते घिमिरेलाइ स्थानीय अन्नपुर्ण स्वास्थ्य चौकीमा प्राथामिक उपचारपछि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसीले बताए।
घिमिरेको बुधवार बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

सुराकीको आधारमा खोजी गर्दै पुगेको भोजपुर जिल्ला र प्रदेश नम्बर १ बाट खटिएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले गोली चलाउन खोजेपछि जवाफी फायरमा उनी घाइते भएको प्रहरीले जनाएको छ। भिडन्तमा प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल , पाँच राउन्ड गोली, एक थान वाइनाकुलर र चार थान डेटोनटर बरामत गरेको थियो।

टेम्केमैयुङ्ग गाउँपालिका वडा नं.२ छिनामखुस्थित धोत्रे जङ्गलमा विप्लवका हतियारधारी समूह र प्रहरीको जम्काभेट भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए। उक्त ठाउँ छिनामखु र खोटाङ्गको केपलासगढी गाउँपालिकाको सिमा क्षेत्रमा पर्दछ।  त्यस क्रममा उनीहरुले प्रहरीमाथि फायर खोलेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले बताए।

दुई दर्जन भन्दा बढि रहेका हतियारधारी समूह त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको बताइएको छ। प्रहरी टोली घटास्थलभन्दा तल र विप्लवकार्यकर्ता माथिबाट भएपछि विप्लवकार्यकर्ताले गोली चलाएको थियो। गोली हानाहान भएपछि विप्लवकार्यकर्ता जंगलतर्फ भागेका थिए।

विगत केहिदिनदेखि भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सिमा क्षेत्र मैयुम, दोभानेमा विप्लवका हतियारधारी कार्यकर्ता रहेको प्रहरीले सूचना पाएको थियो। सोहि सुचनाको आधारमा साल्पा सिलोछोको दोभाने क्षेत्रमा समेत प्रहरीले गस्ति बढाएको थियो। धोत्रे जंगलमा गोली चलेको आवाज सुनेको स्थानियवासीले पनि बताएका छन।

विप्लव कार्यकर्ताको गतिविधि बढेपछि प्रदेश प्रहरीबाट समेत १५ जनाको प्रहरी थप मद्धतका लागि भोजपुर पुगेको थियो।भोजपुरबाट थप ३० जना सहित ४५ जनाको प्रहरीटोलीले विप्लवकार्यकर्ता खोजी गरिरहेको बताइएको छ। पछिल्लो समय विप्लवको गतिविधि वढेको आसंकापछि प्रहरीले विप्लव कार्यकर्ताको खोजी तिव्र बनाएको थियो।

प्रतिक्रिया दिनुहोस