९ जनाको हत्या प्रकरण : ज्वाइँ झुण्डिएको स्थान नजिकै रगत लतपतिएको खुकुरी भेटियो

सफल खबर संवाददाता

मंगलबार, ०७ जेठ २०७६, १७ : ५२
९ जनाको हत्या प्रकरण : ज्वाइँ झुण्डिएको स्थान नजिकै रगत लतपतिएको खुकुरी भेटियो

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सामूहिक हत्या भएको केही घण्टामा सोही गाउँपालिका– ७ मा एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परे । सामूहिक हत्यामा मृत्यु भएका ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाईं मानबहादुर माखिमले झुण्डिएर आत्महत्या गरेका हुन् । उनी मृत फेला परेसँगै उनलेनै ९ जनाको हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको थियो । 

यही आशंका गरिरहँदा माखिम झुण्डिएको नजिकै रगत लागेको धारिलो हतियार फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियार फेला परेसँगै नौ जनाको सामूहकि हत्यामा माखिमको नै संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । यस्तै माखिमले लगाएको कपडा पनि रगतले लतपतिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

अनुसन्धान अधिकृतहरुका अनुसार मोखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । ‘श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन्’, स्रोतले भन्यो । घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया पनि मोखिमकै थियो । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले घटनामा घाइते भएकी बालिकाको बयान र स्थानीयको भनाइको आधारमा हत्यामा माखिमकै संलग्नता रहेको हुन सक्ने आशंका गरिएको बताए ।

सम्बन्धित समाचारहरु

पाँचथर आरुबोटेमा ९ जनाको विभत्स हत्या

नौ जनाको हत्या भएको स्थान नजिकै एक युवक झुण्डिएको अवस्थामा फेला

शोकमा डुबेको आरुबोटे : कोही यतिसम्म क्रुर हुन सक्छ ?

पाँचथर सामूहिक हत्या प्रकरण : आत्महत्या गर्ने युवक नै हत्यारा भएको आशंका

प्रतिक्रिया दिनुहोस