पाँचथर सामूहिक हत्या प्रकरण : आत्महत्या गर्ने युवक नै हत्यारा भएको आशंका

ती युवक मृतक फियाक परिवारको ज्वाईं भएको स्थानीयको भनाइ

सफल खबर संवाददाता

मंगलबार, ०७ जेठ २०७६, १४ : २२
पाँचथर सामूहिक हत्या प्रकरण : आत्महत्या गर्ने युवक नै हत्यारा भएको आशंका

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा भएको सामूहिक हत्या प्रकरणमा आत्महत्या गर्ने युवकको संलग्नता हुनसक्ने प्रहरीले आशंका गरेको छ । 

मिक्लाजुङ–८, लुमाङ्दिनस्थित रुखमा झुण्डिएको अवस्थामा मानबहादुर माखिमको शव फेला फेला परेको छ । स्थानीयका अनुसार आत्महत्या गर्ने माखिम मृतक ७४ वर्षीय बमबहादुर फियाक परिवारका कान्छा ज्वाईं हुन् । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरका अनुसार घटनामा घाइते भएकी बालिकाको बयान र स्थानीयको भनाइको आधारमा हत्यामा माखिमकै संलग्नता रहेको हुन सक्ने आशंका गरिएको छ । उनका अनुसार अहिले प्रहरी उनकै संलग्नता रहेको निष्कर्षमा पुगिनसकेको भएपनि प्राप्त तथ्यहरुलाई विष्लेषण गर्दा उनीतर्फ आशंका गर्न सक्ने आधारहरु फेला परेका छन् । 

अनुसन्धान अधिकृतहरुका अनुसार मोखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । ‘श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन्’, स्रोतले भन्यो । घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया पनि मोखिमकै थियो । डीएसपी कुँवरले भने, ‘शव भेटिनुअघि नै माखिम संदिग्ध रुपमा हाम्रो दायरामा आएका व्यक्ति हुन् ।’ सीता पनि आक्रमणबाट घाइते भएकी छिन् । उनको दायाँ हात भाँच्चिएको प्रवक्ता पोखरेलले जानकारी दिए । सीतालाई उपचारका लागि फिदिम ल्याइएको छ ।

अहिले घटनास्थलमा प्रहरी टोलीले पुगेर अनुसन्धान थालिसकेको र माखिमकै संलग्नता हुन सक्ने भन्दै त्यसतर्फ अनुसन्धान सोझ्याएको छ । 

हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् । 

सम्बन्धित समाचारहरु

पाँचथर आरुबोटेमा ९ जनाको विभत्स हत्या

नौ जनाको हत्या भएको स्थान नजिकै एक युवक झुण्डिएको अवस्थामा फेला

शोकमा डुबेको आरुबोटे : कोही यतिसम्म क्रुर हुन सक्छ ?

प्रतिक्रिया दिनुहोस