गर्भवतीको घरमै भिडियो एक्स–रे सेवा

आइतबार, ०५ जेठ २०७६, ११ : १८
गर्भवतीको घरमै भिडियो एक्स–रे सेवा

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ । नपाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवासमेत उपलब्ध गराएको हो ।

गर्भवती महिलाको घरमै भिडियो सेवासहितको गर्भजाँच कार्यक्रमको नपास्थित वडा नं १ अनैकोट र १३ नं वडाको कोशीदेखाबाट शुरु गरिएको नपा उपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो । उहाँले भन्नुभयो, “नपाभित्रका गर्भवती महिलाको गर्भजाँच स्वास्थ्यकर्मी टोलीले भिडियोसहित शुक्रबारबाट काम शुरु गरेका छन् ।” उहाँका अनुसार समयतालीका बनाएर गर्भवती महिलाको घरमै गई सेवा दिइनेछ ।
 
‘गर्भवती घरदैलो सेवा’ कार्यक्रमअन्तर्गत शुरुमा गर्भवती महिला पहिचान गरी सूचीकृत गरिनेछ । त्यसपछि हप्ताको एक दिन एउटा वडामा पुगेर गर्भवती महिलाको गर्भजाँच सेवा दिइने उपप्रमुख दनुवारले जानकारी दिनुभयो ।
 
एक महिलाले कम्तीमा तीनपटक गर्भजाँच गराउनुपर्ने हुन्छ । सोहीअनुसार नपाले एक महिला गर्भवती भएपछि उनको गर्भ तीनपटक भिडियो एक्से–रे गरेर जाँच गरिनेछ । गर्भजाँचका क्रममा गर्भवती महिलाको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा रहेको पाइए पाँचखालस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क उपचार गराइने र उक्त केन्द्रमा उपचार सम्भव नभए अन्य अस्पतालमा सिफारिश गरिने व्यवस्था मिलाइएको छ । 

नपाभित्रका अधिकांश गर्भवती महिलाले गर्भजाँच नगराएको पाइएपछि अकालमै आमा र बच्चाको मृत्यु नहोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको नपा उपप्रमुख दनुवारले बताउनुभयो । 
‘गर्भवती घरदैलो सेवा’ कार्यक्रमसँगै प्रत्येक वडामा नगर कार्यपालिका प्रतिनिधि तथा स्वास्थ्य कर्मचारीको सहभागितामा घुम्ती बैठक गरिने भएको छ । “घुम्ती बैठकबाट वडामा देखिएका स्वास्थ्य समास्याबारे छलफल गरी समाधनका उपाय खोजिनेछ”, नपा उपप्रमुख दनुवारले भन्नुभयो । १४ वडा रहेको पाँचखाल नगरमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र छ भने प्रत्येक वडामा एउटा स्वास्थ्यचौकी छन् । –रासस

प्रतिक्रिया दिनुहोस