वडा नम्बर दसले बाँड्यो बाल क्लबलाई खेल सामग्री

सफल खबर संवाददाता

शनिबार, ०४ जेठ २०७६, १६ : ३९
वडा नम्बर दसले बाँड्यो बाल क्लबलाई खेल सामग्री

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० ले वडाभित्रका बाल क्लबहरुलाई खेल सामग्री वितरण गरेको छ । वडामा रहेका विभिन्न २७ वटा टोल विकास संस्थाका २७ वटा बाल क्लबलाई शनिवार वडा कार्यालयमा एक कार्यक्रम गरी खेल सामग्री वितरण गरिएको हो ।  
टोलटोलमा खेलकुद भन्ने नाराका साथ वडाका सबै टोल विकास समितिमा फुटबल र क्रिकेटको सामग्री एक सेटका दरले वितरण गरिएको वडा अध्यक्ष अरुण पीडित भण्डारीले जानकारी दिए । भण्डारीले आगामी दिनमा सबैलाई खेल मैदानको पहुँचमा ल्याउने योजना रहेको बताए । उनले भने, ‘स्थानीय बालबालिकालाई खेलमैदान प्रयोग गर्न दिन अनुरोधसहित वडाका सामुदायिक विद्यालयलाई पत्रचार गर्ने तयारी गरिएको छ ।’
वितरण गरिएका खेल सामग्री दुरुपयोग नहोस् भन्नका लागि सम्बन्धित टोल विकास समितिले सामग्री प्राप्त गरेको जानकारीसहितको पत्र वडा कार्यालयलाई लेख्नु पर्ने व्यवस्था गरिएको छ । टोल विकास समिति र बाल क्लबका प्रतिनिधिले वडा कार्यालयमा पुगेर खेल सामग्री बुझेका थिए । 
बुद्ध जयन्तीको अवसरमा शान्ति र समृद्धिको शुभकामनासहित खेल सामग्री वितरण गरिएको वडा अध्यक्ष भण्डारीले बताए । वडा समितिको बैठकले गरेको निर्णय अनुसार ८१ हजार रुपैयाँ बराबरको खेल सामग्री वितरण गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस