-राधा पोखरेल
संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपश्चात पहिलो ऐतिहासिक निर्वाचन सम्पन्न हुन गइरहेको छ । स्थानीय तहको निर्वाचन त सम्पन्न भइनै सकेको छ । स्थानीय तहको निर्वाचनमा जेजस्ता परिदृश्यहरू देखिए, त्यसको समीक्षा जरूरी छ ।
त्यसबाट दलहरू, नेताहरूले मात्रै नभएर हामी मतदाताहरूले पनि सिक्न पर्ने शिक्षा र सच्याउनुपर्ने धेरै कुराहरू छन् ।
मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन विगतको निर्वाचनको निरन्तरता किमार्थ होइन । यो निर्वाचन नयाँ युगमा हुन गइरहेको नयाँ एेतिहासिक निर्वाचन हो । तसर्थ, यस निर्वाचनको जिम्मा दल र नेताहरूलाई मात्र सुम्पिएर हामी मतदाता कानमा तेल हालेर बस्ने अवस्था छैन । कुनै एकजना नेतालाई जिताएर वा कुनै एउटा पार्टीलाई बहुमत दिलाएर मात्र हाम्रो कर्तब्य पूरा हुँदैन ।
लोकतन्त्रको सर्वाधिक सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन हो । निर्वाचनको अर्थ वास्तवमा जनता आफ्नो मालिक आफैँ बन्नु हो । तर बिडम्बना, हामीले जुन लोकतन्त्र र निर्वाचन प्रणालीको प्रयोग गरिरहेका छौं, यसले जनतालाई मालिक होइन; दास नै बनाइरहेको छ । समाजको सबभन्दा पिँधमा पारिएको बर्ग, लिंग, जाति यस्तो निर्वाचनबाट कहिल्यै माथि उठ्न सक्दैन ।
प्राय: सबै दलहरूभित्र टिकट वितरणमा पक्षपात र पैसाको लेनदेन भएको गुनासो सार्बजनिक भइरहेका छन् । अझ महिलाको सन्दर्भमा भन्ने हो भने सबै दलहरूभित्र झनै पक्षपात भएको देखिन्छ । टिकटका लागि शरीरसम्म सुम्पिनुपर्ने लज्जास्पद खबरहरू पनि बजारमा आउन थालेको छ । हाम्रा पुरूष नेतागणहरूको भविष्यवाणी छ- महिलाले प्रत्यक्ष निर्वाचन जित्दैन । त्यसैले टिकट दिएर के काम ? प्रतिस्पर्धा गर्न दिएपछि न थाहा हुन्छ, परिणाम कसले ल्याउँछ भनेर । प्रतिस्पर्धै विना परिणाम सुनाउने यो कस्तो तरिका हो ? दलहरूको कस्तो लोकतन्त्र हो ?
टिकटका लागि शरीरसम्म सुम्पिनुपर्ने लज्जास्पद खबरहरू पनि बजारमा आउन थालेको छ । हाम्रा पुरूष नेतागणहरूको भविष्यवाणी छ- महिलाले प्रत्यक्ष निर्वाचन जित्दैन
मलाई महिलावादीको आरोप पनि लगाउन सक्नुहुन्छ । स्वीकार गर्छु म आरोप । किनकि, नारी सौन्दर्यको ब्यापार चलुन्जेल समाजमा नारी-पुरूष समानताको नारा फगत नारामा मात्र सीमित रहनेछ ।
जसरी समानुपातिक सूचीमा ५० प्रतिशत महिला अनिवार्य गरिएको छ, त्यसैगरी प्रत्यक्षतर्फ पनि संभव भए ५०, नत्र कम्तिमा ४० प्रतिशत महिला अनिवार्य गर्नु आवश्यक छ । यसका लागि अवरोधकका रूपमा रहेको वर्तमानको कानुनी प्रावधान संशोधन गर्न जरूरी छ । अधिकार सुनिश्चित नभएसम्म कसैको निगाहमा बाँच्नुपर्ने वाध्यता रहिरहन्छ । यसको लागि आवश्यक परे नीति निर्माण तहमा रहेका महिला नेतृत्वले पार्टीको घेराभन्दा माथि उठेर संघर्षको अगुवाई गर्ने र सबै महिलाले निशर्त सहयोग गर्ने आँट गर्न जरूरी छ ।
निर्वाचन जनताका लागि उत्सव हुनुपर्ने हो । तर, शासकहरूको स्वार्थ, नेता-कार्यकर्ताको अदुरदर्शिता र मतदाताहरूको अचेतनताको कारण यो निर्वाचन देश र जनताका लागि अभिशाप बन्दैछ । मतदाताहरूलाई डर, धाकधम्की र बिभिन्न प्रलोभनमा पारी मत प्राप्त गर्ने उही पुरानो खेलको पुनरावृत्ति हुने देखिन्छ । हामीले अझै पनि यिनैलाई जिताएर भ्रष्टाचार दुगुना पार्ने ? अझै पनि यिनलाई जिताएर दण्डहीनता तीनगुणा पार्ने ? अझै यिनीहरुलाई जिताएर राज्यकोषको दोहन चौगुणा पार्ने ?
निर्वाचन आयोगले खर्चको एउटा सीमारेखा त तोकिदिएको छ । तर, त्यो सीमा रेखाभित्र अपवादमा बाहेक कुनै पार्टीको कोही उम्मेदवार बस्ने देखिँदैन।
यसो हुनुको पछाडि उम्मेदवारहरूको कमजोरी त छँदैछ, तर त्योभन्दा ठूलो समस्या निर्वाचन प्रणालीको हो ।
पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुने हो भने मत किनबेचको यो अत्यासलाग्दो फोहरी खेल समाप्त हुने थियो । राजनीतिमा केही पैसावाल सम्भ्रान्तहरू, षड्यन्त्र जालझेल गर्ने र गुटगत स्वार्थ बोकेकाहरूको वर्चस्व समाप्त भई सबै जनताको पहुँच कायम हुने थियो ।
हामी मतदाताहरूले हेक्का राख्नुपर्ने कुरा के छ भने, हाम्रो एक भोट कतै भ्रष्टाचारको लाइसेन्स त बन्दै छैन ? अहिले चुनावमा करोडौं रूपैयाँ खर्च गर्नेले भोलि त्यसको साँवा र ब्याज नअसुली छोड्छ ?
यी त भए प्रणालीको कुरा । चुनाव त आइसक्यो । यस प्रणालीभित्र पनि राज्यले कानुनको पालना कडाइपूर्वक गर्ने, उम्मेदवारहरूले पनि कानुन विपरित नजाने र मतदाताहरूले पनि आफ्नो मनोवृत्ति फेर्ने होभने देशलाई चाहिने असल, कुशल र दूरदृष्टि राख्ने ब्यक्तिहरूलाई विजयी गराउन सम्भव छ । सरोकारवाला सबै पक्ष यसो गर्न प्रतिबद्ध छ ? सरकार र उम्मेदवारलाई छाडिदिउँ, के हामी मतदाता तयार छौं ?
हामी मतदाताहरूले हेक्का राख्नुपर्ने कुरा के छ भने, हाम्रो एक भोट कतै भ्रष्टाचारको लाइसेन्स त बन्दै छैन ? अहिले चुनावमा करोडौं रूपैयाँ खर्च गर्नेले भोलि त्यसको साँवा र ब्याज नअसुली छोड्छ ? पक्कै असुल्छ । त्यो हामी जनताको नाममा आएको बजेटबाटै अयो देशलाई बिगार्ने राजनीतिक ठेकेदारहरूको हामी मतदाता पनि मतियार हुनेछौं । देश बनाउने हतियार हाम्रो हातमा छ, हतियार सही निसानामा भेदन गरौं; कोही कसैको मतियार नबनौं । तपाईं हाम्रो एक मतले देश सुखी र समृद्ध बन्न सक्छ । भोलि किनारामा बसेर धुरूधुरू रूँदै धारे हात लाएर नेतालाई सराप्नुभन्दा आजै सचेत बनौं ।
समय आउँछ, जान्छ कसैलाई पर्खदैन । यो हाम्रो आफ्नो सपना पूरा गर्ने समय हो । सपना पूरा गर्न सचेत बनौं अनि स्वार्थ त्यागौं ।
प्रतिक्रिया दिनुहोस