– प्रकाश चापागाईं
ए बा लौन बताउनूस् म बबुरो पर्दैछु दोसाँधमा
बाटो सत्य समाउने कि झुटनैँ पछ्याउँदै जाउँ म
झुप्रा झाप्री गरीवका घर बसी हिँड्दा भनेका कुरा
साँँच्चै सत्य थिएकि स्वार्थ मुनिका माटो बिनाका जरा
सित्तैमा लिनुहुन्न है जगतको धागो सियो क्यै पनि
तिम्रो शक्ति गरीवको श्रमिकको कल्याण सन्जीवनी
बन्दै आउनु पर्छ रात छिचली भन्दै सिकायौ नि बा
लाखौँलाख विहान भाकल गरी साँचो छिपायौ नि बा
बोकी बन्दुक लड्नु पर्दछ भनी मुठ्ठी उठायौ नि बा
पानी कल्कल बग्दथ्यो रगतको खोलो बगायौ नि बा
बैरी पाँच पहाड फोर्नु छ भनी कात्रो गुथायौ नि बा
ऐले पाँच पहाडकै वरिपरी नाच्दै रमायौ नि बा
आगोदेखि डराउने मनुजमा भुङ्ग्रो खन्यायौ नि बा
यात्री बीच परे म तार्दछु भनी डुङ्गा लडायौ नि बा
गैँची मालिक बन्नु पर्दछ भनी कैँची चलायौ नि बा
बेल्चाको अधिकार खै दिनदिनैँ रैती बनायौ नि बा
आफ्नैँ दावल मित्र शत्रुसरि झैँ हिँड्ने बनायौ नि बा
आफ्नाअग्रज दीपको पिठचढी छाला निकाल्यौ नि बा
जन्मस्थान निशेष झैँ हुनगयो आँखा झुकायौ नि बा
खै वर्गीय समानता विषमती मुध्दा लुकायौ नि बा
गोडा धर्धर टेक्दछौ नि किन हो आकाश खोज्छौ नि बा
हावा प्राकृत बिर्सिँदै शहरको दुर्गन्ध रोज्छौ नि बा
यात्रा जीवन उत्तरार्धतिरको उल्टो समायौ नि बा
छर्दै अत्तर हिँड्दछौ तर तिमी ज्यूँदै गनायौ नि बा
प्रतिक्रिया दिनुहोस