नेकपा एकता

जिल्ला समितिको नेतृत्व टुंगियो, वडाको टुंगिने कहिले ?

एकता कुरेर बसेका छन् जनवर्गीय संगठन

सफल खबर संवाददाता

बुधबार, १८ बैशाख २०७६, १२ : ०६
जिल्ला समितिको नेतृत्व टुंगियो, वडाको टुंगिने कहिले ?

काठमाडौँ । आज मे एक अर्थात् विश्व श्रमिक दिवस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रकृया टुंगोमा नपुग्दा जनवर्गीय संगठनहरु एकता कुरेर बस्न बाध्य भएका छन् । 
विश्व श्रमिक दिवस मनाउन पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका मजदुर नेताले एउटै कार्यक्रम गरेपनि जनवर्गीय संगठनहरुको एकता नटुंगिँदा मजदुर आन्दोलनले गति लिन सकेको छैन । एकता घोषणा भएको र केन्द्र, प्रदेशका समिति बनेको लामो समयपछि वैशाख ९ गते जिल्ला समितिको नेतृत्व टुंगो लागेको छ । एकता प्रक्रियाले जुन स्तरमा जुन आधारका साथ गति लिनु पर्दथ्यो, त्यो भने हुन सकेको छैन ।
नेकपाले केन्द्र, प्रदेश तथा स्थानीय तहमा समेत ठूलो जनमत पाएको अवस्थामा उसको गतिविधि प्रभावकारी हुनु पर्ने थियो । तर, नेतृत्वको असफलताका कारण एकता प्रक्रियाले गति लिन सकेन । पटक पटका कार्यदल बनाउने, समय लम्ब्याउने काममा पार्टीको शीर्ष नेतृत्व लागिरह्यो । विधि र प्रक्रियाभन्दा पनि आफ्ना मान्छेलाई नेतृत्वमा ल्याउने होडबाजीका कारण जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाउन समस्या पर्दै आएको थियो । 
पछिल्ला दिनमा त माधव नेपालको हठका कारण पनि पार्टी एकताले सार्थकता पाउन सकेको छैन । जिल्ला नेतृत्वको टुंगो लागेको भए पनि जनवर्गीय संगठन तथा अन्य सहायक संगठन तथा अन्य संरचनात्मक संगठनमा एकता प्रक्रिया बाँकी न छ । पार्टीको युवा, विद्यार्थी तथा अन्य जनवर्गीय संगठनको एकता प्रक्रियालाई के कसरी टुंगो लगाउने भन्ने बारेमा समेत कुनै ठोस निर्णय हुन सकेको छैन । 
जनवर्गीय संगठनको एकता तथा कार्यकर्ताको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा स्पष्ट नीतिको अभावमा प्रक्रिया नै अगाडि बढ्न सकेको छैन । विशेषगरी पार्टी सचिवालय बैठकले तयार पार्ने कार्ययोजनामा समते नेताहरुबीच मतैक्य हुन सकेको छैन । त्यसमा निहुँ खोज्ने प्रवृत्ति समेत हावी भएको छ । 
लामो समयसम्म पार्टी एकता प्रक्रियाले गति लिन नसक्दा देशव्यापी रुपमा राजनीतिक कार्यक्रमले समेत गति लिन सकेको छैन । पार्टीको तल्ला समितिहरु तदर्थवादमा हराएका छन् । राजनीतिक गतिविधि केही भएका छैनन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केही नेताले जागरणको नाममा जिल्लामा केही सामान्य खालको कार्यक्रम गरे पनि अन्य दल भने गाउँ नै गएका छैनन् । 
एकता भँडुवा प्रवृत्ति
नेकपाभित्र एकता प्रक्रिया भाँड्न सक्रिय रहेका इश्वर पोखरेल प्रवृत्ति पनि जब्बर रहेको छ । त्यो प्रवृत्तिले कुनै पनि सकारात्मक कामको जश लिन त परै आजोस्, त्यसलाई स्वीकार गर्ने चिन्तन समेत बोकेको छैन । पोखरेल प्रवृत्तिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध समेत विषवमन गरेर बस्ने गरेको छ । एकाध पत्रकार समेत पोखरेल प्रवृत्तिको शिखण्डी बन्दै हिँडेका छन् । 
पार्टी एकता भँडुवा प्रवृत्तिलाई जनताको विश्वासका आधारमा अगाडि बढेको पार्टी एकता प्रक्रियलाई सार्थक बनाउनु पनि छैन । यो प्रवृत्ति थप समस्या निम्त्याउन उद्यत रहने गरेको छ । सत्ता र शक्तिलाई व्यक्तिगत फाइदाका लागि प्रयोग गरेका पोखरेलले हरेक स्थानमा आफ्ना सालासाली, भान्जाभान्जी तथा भतिजाभतिजीलाई मात्रै स्थान दिने गरेका छन् । 
पार्टीभित्र पोखरेल प्रवृत्ति हावी रहेको पाइन्छ । सामान्य शिष्टाचार समेत नदेखाउने यो धमिरा प्रवृत्तिको कडा प्रतिवाद गर्दै जरो किलो उखेलेर फाल्नु नै उत्तम हुने जानकारहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस