प्रदेश–२ मा बेइमानी देखियो, नेकपाको सरकार बन्न सक्छ : प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, १७ बैशाख २०७६, ११ : ४४
प्रदेश–२ मा बेइमानी देखियो, नेकपाको सरकार बन्न सक्छ : प्रचण्ड

काठमाडौं ।  नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ मा नेकपाको नेतृत्वमा सरकार बन्न सक्ने बताउनुभएको छ । 
उहाँले प्रदेश २ मा पछिल्लो पटक झन् बढी बेइमानी देखिएको बताउँदै भन्नुभयो, ‘नेकपाले चाहेमा अहिले पनि सरकार बन्न सक्छ ।’ 
राजधानीमा भएको एक कार्यक्रममा उहाँले फोरम राजपाको गठबन्धन सरकारले तराई मधेसको हितमा काम गर्न नसकेको आरोप लगाउनुभयो । हाल प्रदेश २ मा फोरम र राजपाको गठबन्धन सरकार छ । 
अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘फोरम राजपाको सरकार बनेको छ, ठीकै छ राम्रो काम गरुन् भनेर छोडिरहेको हो, तर त्यस्तो देखिएन, प्रदेश २ मा नेकपाकै सरकार बन्नसक्छ, नेकपाकै सरकारले तराई मधेसका जनताको हितमा काम गर्छ ।’
उहाँले मधेसमा अहिलेको सरकार ठीक ढंगले नचलेको र मधेसी जनताको हित अनुकूल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश २ मा भ्रष्टाचार बढेको छ, बेइमानी फस्टाएको छ, यही स्थिति हुने हो भने बिचैमा पनि सरकारको नेतृत्व लिनुपर्ने परिस्थिति आउन सक्छ ।’ 
तराई मधेस फोरमका अध्यक्ष अमर यादवसहितको टोलीलाई प्रचण्डले नेकपा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीले फेरि उहाँहरुले बनाएको सरकार राम्रो काम गरोस्, हाम्रो साथ हुन्छ भनेर भनेको हो, तर त्यस्तो देखिएन ।’  

प्रतिक्रिया दिनुहोस