कविता : बाको चिठी

आइतबार, १५ बैशाख २०७६, १७ : ०१
कविता : बाको चिठी

– बुद्धिसागर

कतै खुम्चिएको
कतै च्यातिएको
र, कतै बर्खे पानीले भिजेको
यो चिठी हो कि
हो यो मेरो बाको अनुहार ?

अँध्यारो गल्लि हुँदै 
लतार्दे चुच्चो च्यातिएको जुत्ता
बोकेर नाइटबसको चर्को गन्ध 
आएको छ मध्यरात
आँखाभरि 
बाको गालाको टल्किने ठूलो हड्डी ।

हलोको फालीको खियाबाहेक
साइनबोर्डले छोपेको यो सहर
र, पाइलैपिच्छे पार्किङ निशेधका बोर्डहरु
देख्नुभएको छैन, 
बाले कवि बनेको कान्छो छोराको
कविता पनि सुन्नुभएको छैन ।

पहिरोले घरको आँगन लगेको छ भत्काउँदै
त्यही डिलमा बसेर लेख्नुहुन्छ-
'कान्छा !
पशुपतिनाथले रक्षा गरुन् ।'

धेरै छन्, कतै पुरानो अध्यायझैँ
भुलेका या बिर्सिएका सपनाहरु!
कान्छो छोराको 
सेतो सर्टको छातीको पाकेटमा
धेरै छन्-- लुकेर बसेका इच्छाहरु ।

हरेक किराना पसलमा
धेरैपटक केरिँदै/मेटिँदै
साहुजीको दैनिक खातामा उधारो बाँचिरहेको म
पढिरहेछु यतिबेला
ख्याउटे, उदास अनुहार बोकेर आएको 
बाको चिठी ।

प्रतिक्रिया दिनुहोस