– आचार्य लक्ष्मण भण्डारी
बुधबार दिउँसो दुई बजेको हुँदो हो । भरतपुरको चौबीसकोठीमा हिँडिरहेको थिएँ, एउटा ११ वर्षको सानो बाबु नजिकै आएर ‘सर, नमस्कार !’ भन्यो । ‘नमस्कार !’ मैले पनि यसो फर्किएर दायाँतिर हेर्दै भनेँ । ऊ मुस्कुरायो र भन्यो, ‘हजुरलाई देख्न कस्तो मन लागेको थियो, देख्न पाएँ । हेहे ।’ ऊ साइकल चलाएर कतै जाँदै थियो । सानो ११ वर्षको बालक । उसले साइकलको पछाडि क्यारियरमा फलफूल राख्ने खाली क्रेट बोकेको थियो । मैले सोधेँ, ‘बाबु, तिमी कताबाट आएको त ? यस्तो भिडभाडमा सानो मान्छेले साइकल चलाउँदै ?’
‘आज बिदा । त्यसैले, ममीलाई सघाउन आएको सर ! ममीले कति दुःख गर्नुहुन्छ ! कहिले कहिले सघाउन मन लाग्छ । त्यसैले आएको सर !’—सानो ११ वर्षको बालकका अत्यन्त जिम्मेवारीपूर्ण यी वाक्य सुन्दा गम्भीर हुन मन लाग्यो । मैले भनेँ— ‘ए ! त्यसोभए तिम्रो ममीले केकाम गर्नुहुन्छ ?’ चौबीसकोठीको पश्चिम चितवनतिर जाने गाडीहरू लाग्ने ठाउँतिर देखाउँदे उसले भन्यो,‘उः त्यहाँ सुन्तला बेच्नुहुन्छ, सडक छेउमा बसेर ।’ ‘त्यसोभए मलाई पनि लैजाऊ न त तिम्रो ममी भएको ठाउँमा, हुन्छ ?’—मैले यसो भन्दासाथ ‘हुन्छ, आउनुस्, सर !’ भन्दै उसले लिएर गयो ।
उसकी आमा सडकको किनारमा बसेर सुन्तला बेच्दै थिइन् । आफ्नो सानो छोरालाई मसित देख्नासाथ खुसी भइन्, उठेर नमस्कार गरिन् र भनिन्—‘के गर्ने सर, दुःख छ । हामी गरिब मान्छे ! यी केटाकेटीलाई पाल्नुपर्ने । दीपेशको बाबाको हातले काम गर्न हुँदैन । यहाँ आएर यसो दुइचार पैसा हुन्छ कि भनेर बसेकी छु । यो छोरो बिदामा घरमा बस्नै मान्दैन । हजुरलाई सघाउन जान्छु भन्छ, मसितै आउँछ । आज हजुरलाई भेटेर खुसी भएको छ । लौनुस् सर, यो सुन्तला खानुस् न ।’—यसो भन्दै आफूले बेच्न राखेको झोलाबाट निकालेर दुईटा सुन्तला जबर्जस्ती हातमा राखिदिन खोजिन् । मैले ‘पर्दैन, मैले सुन्तला खाइरहेको छु । राम्रो व्यापार गर्नुस् । हजुरको राम्रो कमाइ होस् । एकदम राम्रो काम गर्नूभएको छ । बाबु पनि एकदम ज्ञानी छ । राम्रो छोरो पाउनुभएको छ । दुःखको फल एकदिन पाउनुहुन्छ । धैर्य गर्नुस् ।’ भनेर सकेसम्म सुन्तला लिन खोजिनँ ।
मनिसहरूको भीडभाड बढ्दै थियो । दीपेशकी ममी अलि टाढा हेरेर आत्तिएजस्तो गरिन् र भनिन्, ‘उः नगरपालिका आएजस्तो छ । बस्न पनि पाइँदैन सर ! डरैडरमा काम गर्नुपर्छ । हाम्रो बाबुलाई राम्रोसित पढाइदिनुभएको छ । छात्रवृत्तिमा पढ्न पायो भने झन् कति राम्रो हुन्थ्यो !’
दीपेश एउटा छेउमा बसेर मुस्कुराइरहेको थियो । दुवै आमाछोराका निधारमा मोतीका दानाजस्तै पसिनाका दाना टल्किरहेका थिए । यसैबीचमा दीपेशकी आमाले निकै कर गरेर सप्रेम प्रदान गरेका सुन्तलामध्ये एउटा सुन्तला लिएर फर्किएँ । दुवै आमाछोरा अत्यन्त खुसी भए । मैले पनि आमाछोराका केही तस्बिर मोबाइलमा कैद गर्न चाहेँ । दुवैलाई देखेर मन कस्तोकस्तो भयो ! फर्कँदै गर्दा दीपेशलाई ‘बाबु, तिमीले ममीलाई यसैगरी सघाउनू, तर पढाइ पनि सँगसँगै राम्रो गर्नु ल ! अनि साइकल चलाउँदा छेउबाट चलाउनू । बाटो काट्दा वरपर हेरेर सुरक्षित भएपछि मात्रै बाटो काट्नू ! बाबा र ममीलाई सधैँ माया गर्नू, है ?’ भनेँ । ‘हस्’—उसले मुस्कुराउँदै भन्यो-‘तर, हजुरले मलाई कहिल्यै
नबिर्सनुस् है ?’ मैले पनि ‘हस्’ भन्दै उसका कपाल प्रेमले समेलेँ, निधारका पसिना पुछिदिएँ । गला लगाएँ । उसलाई छोड्न कत्ति मन मानेको थिएन । थाहा छैन केके सोचेँ । गहभरि आँसु भरिएर आए ।
मुखले नभने पनि मनमनै भनेँ, ‘दीपेश, मैले तिमीलाई कहिल्यै बिर्सन्नँ । मैले बिर्सन खोजे पनि तिम्रो काम, पुरुषार्थ र यो उमेरको तिम्रो जिम्मेवारीले नै मलाई बिर्सन दिँदैन । तिमी र तिम्रो काम आफैँमा अविस्मरणीय छौ। सम्झ, म सधैँ तिमीसितै छु ।’
दीपेशको जस्तै आफ्नो बाल्यकाल सम्झँदा सम्झँदै उसले जस्तै आफूले व्यतीत गरेका क्षणहरू आँखाअगाडि एकाएक साकार भएर आएकाले पनि होला, मन यतिविधि बोझिलो भएको !
अर्को मनले यसो पनि भन्यो, ‘श्रमलाई अवमूल्यन गर्ने, बाबुआमालाई सताउने, दिनभरि मोबाइल र इमेलइन्टरनेटको अगाडि मुन्टो झुकाएर बस्ने आजका छोराछोरीभन्दा त सायद दीपेशले धेरै राम्रो काम गरेको छ । ठीक छ, थोरै दुःख त भएको छ, तर उसले निकै अर्थपूर्ण र ठूलो काम गरेको छ । सफलताको सुरुआत यसरी नै हुन्छ । संसारका महान् मानिसको यात्रा यसैगरी त सुरु भएको छ । तसर्थ, दीपेशलाई धेरैधेरै शुभकामना !!’
दीपेश महतो एसओएस हर्मन माइनर विद्यालय भरतपुरमा भर्खरै कक्षा ५ उत्तीर्ण गरी कक्षा ६ मा अध्ययन गर्दै छ । सधैँ हसिँलो अनुहार, प्रेमपूर्ण र सम्मानपूर्ण भावभङ्गिमा अनि बाबाआमालाई सघाउनुपर्छ, सहयोग गर्नुपर्छ भन्ने चेतना दीपेशका विशेषता !!! दीपेश तिमी धन्य छौ ! तिमीभित्रको कर्मशीलतालाई हार्दिक प्रणाम ! (फेसबुकबाट)
प्रतिक्रिया दिनुहोस