माधव नेपाल भेटने को हुन्, विप्लवका नेता ?

सफल खबर संवाददाता

विहीबार, १२ बैशाख २०७६, ०९ : २५
माधव नेपाल भेटने को हुन्, विप्लवका नेता ?

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव नेपालसँग नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपाका केन्द्रीय सदस्यले भेटेका छन् । घटना अलिक अगाडिको हो । सरकारले विप्लव नेकपालाई गत फागुन २८ गते प्रतिबन्ध लगाएपछि विप्ल्वका पार्टीका केन्द्रीय सदस्यले नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेटका हुन् । एक उच्च स्रोतका अनुसार, वरिष्ठ नेता नेपाललाई भेटने विप्लवका केन्द्रीय नेता कोही नभएर अहिले प्रकाशन विभागतिर रहेका केन्द्रीय सदस्य गुणराज लोहनी (लुम्वडी) हुन् । लोहनीले पार्टी प्रतिबन्धपछि वरिष्ठ नेता नेपालसँग उनकै निवास कोटेश्वर पुगेर भेटेका हुन् ।

सरकारले नेता सोमप्रसाद पाण्डेको नेतृत्वमा विगतमा वार्ता टोली बनाउँदा पनि विप्लवका पार्टीबाट उनै लोहनीले पाण्डेसँग पटक पटक वार्ता गरेका थिए । लोहनीसँगको वार्तापछि नै नेता नेपालले विप्लवले चाहे आफु जिम्मेवारी लिएर वार्ताको पहलकदमी बढाउन सक्ने सार्वजनिक मन्तब्य दिदै आएका थिए ।

गुनराज लोहनी र चिरन पुन

लोहनीसँगको भेटपछि पनि नेपालले वार्ताका लागि विप्लवलाई ल्याउन सकेका छैनन । नेपालकै सम्धि पर्ने सोमप्रसाद पाण्डेले पनि यो बीचमा फेरि नेकपाका केन्द्रीय नेताहरुलाई भेटेका छन् । पाण्डेले भेटेका नेतामा पनि उनै लोहनी छन् । लोहनीले अर्का केन्द्रीय सदस्य तथा नारायणी ब्यूरो इन्चार्ज रहेका चिरन पुन (मनोज) लाई लिएर पाण्डेसँग भेट गरेको एक विशेष सुत्रले बतायो । पार्टी प्रतिबन्ध पछि नै यी दुई भेटघाट भएका हुन् ।

त्यसो त माधव नेपालले लोहनीसँग मात्र भेटेका छैनन । भक्तपुरका हरि क्षेत्री (अर्जुन थापा)सँग पनि भेट गरेका छन् । चागुनारायणका मेयरमार्फत क्षेत्रीले नेपाललाई भेटेका हुन् । भेटमा क्षेत्रीले आफु हरि क्षेत्री भएको बताएपछि तत्कालिन माओवादी र सरकार बीचको दोश्रो वार्ताका क्रममा क्षेत्री सम्र्पक सुत्र भएको आफुले नाम सुनेको भन्दै फेरि वार्ताको वातावरण वन्नेमा आशावादी रहेको सुनाएको स्रोतले बतायो ।

क्षेत्री पनि अहिले विप्लवको पार्टीका नेता छन् । नेता नेपालले लोहनी, क्षेत्रीसाग आफैले प्रत्यक्ष भेटेर सम्वाद गरेका छन भने सम्धि सोमप्रसादमार्फत अर्का नेता चिरन पुनलाई पनि सम्र्पकमा राखीरहेका छन् । तर पनि विप्लव भने वार्ताका लागि अहिले तत्काल तयार नदेखिएको स्रोतले बतायो । 

प्रतिक्रिया दिनुहोस