चितवन । निजी क्षेत्रको समस्या समधान भए समृद्ध देश बनाउन सकिने सरोकारवालाहरुले बताएका छन् । एभिन्यूज टेलिभिजन प्रदेश नम्बर ३ ले बुधबार भरतपुरमा आयोजना गरेको समृद्धि सपना, प्रादेशिक विकास बहस कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सरकार एक्लैले समृद्धि हासिल गर्न नसक्ने बताउनु भयो । निजी क्षेत्रसँगको सहभागिताले विकास र समृद्धि सम्भव रहेको उहाँको भनाई थियो । ‘समृद्धिको अभियानमा सबै जना एकाकार भएर अगाडि बढ्नु पर्छ’ उहाँले भन्नुभयो, ‘स्थानीय सरकार बनेको करिब २ वर्षमा केहि सकारात्मक काम गरेका छौं । जनतासँग अहिले तीब्र विकासको चाहना छ । केहि अंश भए पनि विकासका काम गरेका छौं ।’
उहाँले भरतपुर महानगरमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन, उद्योग र मेडिकल सिटीको ठूलो सम्भावना रहेको बताउनु भयो । भरतपुर महानगरपालिका समुचित र सन्तुलित विकासका लागि अगाडि बढिरहेको उहाँले बताउनु भयो । उहाँले कृषि क्षेत्रको विकासको लागि महानगरले प्राविधिक समिति निर्माण गरेको जानकारी दिनुभयो । समितिकै सुझावको आधारमा कृषिलाई वैज्ञानिक रुपमा अघि बढाउन लागिएको उहँले बताउनु भयो । महानगरको बजेटले मात्र दिगो विकास गर्न नकिने भन्दै उहाँले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यले मात्र समृद्ध नेपाल सम्भव रहेको बताउनु भयो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले ३ तहको सरकार निर्माण भएपछि निजी क्षेत्रलाई सकारात्मक सहयात्रीका रुपमा लिइएको बताउनु भयो । सरकारले सकारात्मक रुपमा लिएकाले निजी क्षेत्रहरु उत्साहित भएको उहाँको भनाई थियो । पछिल्लो समय समृद्धिका लागि धेरै बहसहरु भए पनि सपना कार्यान्वनतर्फ नगएको उहाँको आरोप छ । ‘उद्योग सम्बन्धी पूर्णरुपमा कानुन निर्माण भइसकेको छैन’ उहाँले भन्नुभयो, ‘नीतिहरु अस्पष्ट छन् । कृषि उत्पादनलाई प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय रुपमा पाइने अनुदान नेपालमा पनि दिनुपर्छ । यो व्यवस्था नेपालमा छैन ।’
उहाँले नेपालका पर्यटकीय क्षेत्रलाई प्रचार प्रसार गर्न प्रवद्र्धनात्मक कार्यक्रम नभएको बताउनु भयो । उहाँले प्राकृतिक स्रोतसाधनकै प्रयोग गरेर पर्यटन क्षेत्रलाई अगाडि बढाउन सकिने बताउनु भयो । छिमेकी राष्ट्र चीन र भारतबाट मात्रै पर्यटक भित्र्याउन सके देशले छिट्टै समृद्धि हासिल गर्ने उहाँको भनाई थियो ।
चितवन उद्योग संघका उपाध्यक्ष राजु पौडेलले नेपालले औद्योगिक क्षेत्रको विकास गर्न छिमेकी राष्ट्र भारतको सिको गर्नुपर्ने बताउनु भयो । उहाँले भारतको उत्तराखण्डमा १० प्रतिशत लगानीमा उद्योग सञ्चालन गर्न सकिने बताउनु भयो । कुनै योजना देखाएमा ९० प्रतिशत लगानी र जग्गा दिने व्यवस्था सरकारले गरेको छ । उहाँले उद्योगलाई थप विकास गर्न भन्सारको राजस्व दरलाई घटाउनु पर्ने बताउनु भयो । नेपालले ५ वर्षसम्म औद्योगिक क्षेत्रको कुल ग्राहस्थ उत्पादन १९ प्रतिशत पु¥याउने लक्ष्य लिएको भए पनि अहिलेको अवस्थामा नपुग्ने उहाँले बताउनु भयो ।
कार्यक्रमका टिप्पणीकार युवराज वस्तीले कृषि र उद्योग क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा राख्नु पर्ने बताउनु भयो । उहाँले समृद्ध नेपाल बनाउन प्राविधिक शिक्षा हुनु पर्ने बताउनु भयो । ‘२२ वर्षदेखि हामी आयातमुखी भएका छौँ’ उहाँले भन्नुभयो, ‘अब निर्यातमुखी हुने बाटोमा लाग्नु पर्छ । युवा शक्तिको बहिर्गमनलाई रोक्नु पर्छ ।’ चीन र भारतलाई जोड्ने उत्तर–दक्षिण बाटो निर्माण भएमात्रै देशमा समृद्धिको ढोका खुल्ने उहाँको भनाई थियो ।
कार्यक्रममा प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, प्रदेश सांसदहरु कृष्ण खनाल, विजय सुवेदी, कृष्ण भुर्तेल, रामलाल महतो, मिलनबाबु श्रेष्ठ, नेपाल उद्योग परिसघंका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ बैशाख २०७६, १४ : ४२
लेखकबाट थप