जिल्ला तहमा नेकपा एकीकरण

७७ मध्ये २७ अध्यक्ष प्रचण्डको पोल्टामा

बाँकी : ओलीको भागमा २५, नेपाललाई १५, बादल ५, तटस्थ ३, श्रेष्ठ १, खनाल १

सफल खबर संवाददाता

मंगलबार, १० बैशाख २०७६, १६ : २७
७७ मध्ये २७ अध्यक्ष प्रचण्डको पोल्टामा

काठमाडौं । पार्टी स्थापना दिवसको अवसर पारेर सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सोमबार जिल्ला तहको पार्टी एकीकरण घोषणा ग¥यो । उक्त घोषणा अनुसार पूर्वएमालेको भागमा ४४ अध्यक्ष र ३३ सचिव तथा पूर्वमाओवादीको भागमा ३३ अध्यक्ष र ४४ सचिव परेका छन् । 

पूर्वएमालेभित्र मुख्यरुपमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूह तथा पूर्वमाओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता रामबहादुर थापा बादल समूहलाई राम्रै भाग परेको छ । पूर्वएमालेको भागका तीन जना अध्यक्षले तटस्थ रहेको जनाएका छन् । पूर्वमाओवादीका नारायणकाजी श्रेष्ठको भागमा एक र पूर्वएमालेका झलनाथ खनालको भागमा पनि एक जना अध्यक्ष परेका छन् ।

नेकपाको भागबण्डा अनुसार १४ जिल्ला भएको प्रदेश नम्बर एकमा प्रचण्डलाई पाँच, ओलीलाई पाँच र नेपाललाई चार जना अध्यक्ष परेका छन् । आठ जिल्ला भएको प्रदेश नम्बर दुईमा प्रचण्डलाई तीन, नेपाललाई दुई, श्रेष्ठलाई एक र खनाललाई एक जना अध्यक्ष परेका छन् । १३ जिल्ला भएको प्रदेश नम्बर तीनमा ओलीलाई पाँच, प्रचण्डलाई तीन, नेपाललाई तीन र बादललाई दुई जना अध्यक्ष परेका छन् ।

११ जिल्ला भएको गण्डकी प्रदेशमा प्रचण्डलाई चार, ओलीलाई चार र नेपाललाई एक जना अध्यक्ष परेका छन् । १२ जिल्ला भएको प्रदेश नम्बर पाँचमा ओलीलाई छ, प्रचण्डलाई चार, बादललाई एक र नेपाललाई एक जना अध्यक्ष परेका छन् । १० जिल्ला भएको कर्णाली प्रदेशमा प्रचण्डलाई चार, ओलीलाई दुई, बादललाई दुई र नेपाललाई पनि दुई जना अध्यक्ष परेका छन् । नौ जिल्ला भएको सुदूरपश्चिम प्रदेशमा प्रचण्डलाई चार, ओलीलाई तीन र नेपाललाई दुई जना अध्यक्ष परेका छन् ।

अधिकांश सचिव पूर्वमाओवादीका
अधिकांश अध्यक्ष पूर्वएमालेको पोल्टामा गएपछि स्वभावतः अधिकांश सचिव पूर्वमाओवादीको भागमा आएका छन् । जस अनुसार प्रदेश नम्बर एकमा प्रचण्डको भागमा आठ, नेपालको भागमा चार, ओलीको भागमा एक र बादलको भागमा पनि एक जना सचिव परेका छन् । प्रदेश नम्बर दुईमा नेपालको भागमा चार, प्रचण्डको भागमा दुई र बादलको भागमा दुई जना सचिव परेका छन् । प्रदेश नम्बर तीनमा प्रचण्डको भागमा छ, नेपालको भागमा चार, बादलको भागमा दुई र ओलीका् भागमा एक जना सचिव परेका छन् । गण्डकी प्रदेशमा प्रचण्डको भागमा ५, ओलीको भागमा दुई र बादलको भागमा एक जना सचिव परेका छन् ।

प्रदेश नम्बर पाँचमा प्रचण्डको भागमा छ, ओलीको भागमा दुई, नेपालको भागमा दुई र बादलको भागमा एक जना सचिव परेका छन् । कर्णाली प्रदेशमा प्रचण्डको भागमा चार, ओलीको भागमा तीन र नेपालको भागमा पनि तीन जना सचिव परेका छन् । सुदूरपश्चिम प्रदेशमा प्रचण्डको भागमा चार, नेपालको भागमा पनि चार र बादलको भागमा एक जना सचिव परेका छन् । पूर्वएमालेतर्फका तीन जना सचिव तटस्थ रहेका छन् ।

सातै प्रदेशमा अध्यक्ष र सचिव पाउनेमा प्रचण्डमात्र रहेका छन् । ओलीले दुई नम्बर प्रदेशमा अध्यक्ष र सचिव नै पाएका छैनन् । त्यहाँ पूर्वएमालेको तर्फबाट नेपालका दुई जना अध्यक्ष र चार जना सचिव छन् । सुदूरपश्चिम प्रदेशमा पनि ओली समूहबाट सचिव छैनन् । नेपाल समूहले गण्डकी प्रदेशमा सचिव पाएको छैन । चार वटा प्रदेशमा अध्यक्ष नपाएका बादलले कर्णालीबाहेक अन्य सबै प्रदेशमा सचिव पाएका छन् ।

प्रतिक्रिया दिनुहोस